विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगंगा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ-३ लेतेमा भेडा गोठ झारेका म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहर मोहले घुम्ती गोठमा भेडाबाख्रा र गाई भैँसी पाल्ने चलन हराउन थालेको बताए। अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन् । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उनी आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा छन्।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उनले भने, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।” बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएका छन् । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाए।

“पहिले एक सय भेडा बाख्रासँगै आठ-दश वटा गाई भैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथेँ। गाई भैँसी बेचेर सकिए । चालीस वटा भेडाबाख्रा छन्”, उनले भने, “छोराछोरीले यो पेसा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेसा संकटमा परेको म्याग्दीको अन्नपूर्ण-१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उनले भने “भेडाबाख्रा बेचेर वर्षमा रु. आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु. एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताए। असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झन्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका-३ मुनाका ७७ वर्षीय गंगाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिक कार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उनले भने “ट्याक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताए। बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 51 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 13 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 130 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 37 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 38 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 36 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा