दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, १८ पौष । वीरगंज महानगरपालिकाले आज शोक विदा दिएको छ । महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक विदा दिएको हो।
थापा यही पुस ०६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो। दिवंगत थापा वीरगंज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समय देखि निरन्तर कार्यरत रहँदै आउनु भएको थियो ।
उहाँको आकस्मिक निधनले महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ । वीरगंज महानगरपालिकाले दिवंगत थापाको असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।

दिवंगत थापाको शोकमा आज बिहान ११:०० बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभाको आयोजना गरिएको थियो । शोक सभामा महानगर प्रमुखको राजेश मान सिंह को उपस्थितिमा उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन् ।








