१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

बागलुङ । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्ष अघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्ष अघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् ।

यो क्षेत्र बाइसे चौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने संकल्प गरेका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो ।

तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्व चर्चित बनेको बागलुङ नगरपालिका-६ सिमका स्थानीय गोविन्द आचार्यले बताए । पञ्चकोटलाई नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेपछि पञ्चकोटको महिमा झनै बढेर गएको उनको भनाइ छ ।

“सानातिना पाँच वटा कोट थिए, स्वामी कमलनयनाचार्यको गृह गाउँ भएकाले २०७० सालमा स्वामी यहाँ भएको एक यज्ञमा आउनुभयो, त्यसक्रममा उहाँले अहिले पञ्चकोट भएको स्थानमा ध्यान र तपस्या गर्ने क्रममा पाँचकोटको सङ्गमस्थल बनाउने परिकल्पना गर्नुभएको थियो”, आचार्यले भने ,“स्वामीज्यूको परिकल्पनालाई स्थानीयले साथ दिएका कारण अहिले त्यो उजाड डाँडा धार्मिक पर्यटकीय स्थल बनेको छ ।”

आचार्यका अनुसार स्वामी कमलनयनाचार्य भान्सास्थित सदाशिव आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा आएपछि उनले पञ्चकोटको विकास गर्ने परिकल्पना गरेका थिए । त्यसपछि अहिले पञ्चकोटमा रहेको गरुडशिलाभित्र रहेको गुफामा कुटी बनाएर ध्यान तपस्या गर्दै आएका र २०७१ साल फागुन ९ गते पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलशसहित अन्य संरचना बनाउन थालिएको थियो । करिब ९० रोपनी जग्गामा अहिले दर्जनौँ धार्मिक संरचना निर्माण भइसक्दा पञ्चकोटको महत्त्व बढेको मात्रै छैन विश्वव्यापीसमेत भइसकेको धेरैको भनाइ छ ।

प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट क्षेत्रको ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट गरी पाँच कोटको संयुक्त रूपलाई नै पञ्चकोटका रूपमा विकास गरिएको छ , पछिल्लो समय पञ्चकोटमा स्थानीय, प्रदेश र संघीय सरकारको समेत लगानी बढ्न थालेको छ ।

बागलुङ नगरपालिका-६ का वडा अध्यक्ष रुद्र केसीले तारजालकोटमा पञ्चकोटको संरचना बनेको र भने अन्य कोटलाईसमेत पुनः निर्माण गरी नित्य पूजाआजा गर्न थालिएको जानकारी दिए । “अहिले पञ्चकोट भनिएको ठाउँ तारजालकोट हो, त्यसमाथिका चार वटा डाँडाँमा अरु कोट रहेका छन् कारिकोट, माझकोट, राङरांकोट र त्यो क्षेत्रकै सबै भन्दा अग्लो डाँडामा संसारकोट रहेको छ”, केसीले भने, “पञ्चकोटका कारण अन्य कोटहरूमा समेत सामान्य पूर्वाधार निर्माण भइरहेका छन्, अन्य कोटमा जाने पदमार्ग, सत्तललगायत संरचना निर्माण भइरहेका छन् ।”

पञ्चकोटमा १० वर्षको अवधिमा रु. ५० करोडभन्दा बढी लगानीमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले यस भूमिलाई धार्मिक क्षेत्र बनाउन लागि १० वर्ष लागेको र अझै अन्य योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताए ।

दामोदर कुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामसम्मको धार्मिक क्षेत्रलाई एकीकृत गरी पञ्चकोटको विकास भइरहेको उनले जानकारी दिए । “कालीगण्डकीले कुँदेको पहाडमा यो विशाल संरचना त्यसै बनेको छैन, यहाँ धेरैको सहयोग, लगानी छ । हाल सरकारी स्तरबाट समेत बजेट आइरहेको छ, यहाँ राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको सवारी भइसकेको छ”, उनले भने, “१०८ फिट अग्लो कलश निर्माणका लागि समय समयमा महायज्ञ गर्दै आइएको छ ।”

पञ्चकोटमा गत फागुनमा मुक्तिनाथ महाघण्ट स्थापना गरिएको छ । पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको स्वामीको भनाइ छ । महाघण्ट आठ वर्षदेखिको परिकल्पना हाल आएर पूरा भएको र पञ्चकोटका सम्पूर्ण योजनाले पूर्णता पाउन भने अझै १० वर्ष लाग्ने जनाइएको छ ।

पञ्चकोटमा अहिलेसम्म सिसमहल, गरुड शिला, गण्डकीमाताको मन्दिर, पञ्चयज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले यी संरचना बनेका हुन् ।

समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि विसं २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए ।

यहाँ करिब एक सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । यस्तै, गण्डकी माताको मन्दिर र गरुणशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घर बनिसकेको छ ।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 64 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 48 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 39 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 60 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 114 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 92 views