बेनी-जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू

म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ ।

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरूले यात्राको दुःख, कष्ट भुलाइदिने गरेको यात्रुहरू बताउँछन् । ‘गाडीबाटै देखिने झरनाहरू बेनी–जोमसोम सडकका गहना हुन्’, मुस्ताङ घुमेर फर्किनु भएका बेनीका विनोद खत्रीले भने, ‘झरनाहरूको सौन्दर्यले यात्राको दुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।’

बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ । बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुल्ने गर्छन् ।

पहिले सुनसान हुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताए । पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ ।

झरना परिसरमा पुग्दा गर्मी याममा शीतल हुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुक्त गन्तव्य हो ।

झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुने बेनीका किरन कार्कीको अनुभव छ ।अन्नपूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ ।

सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो ।

सडकको नागढुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो । अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहरामा आराम गर्छन् ।

कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला बीचको छ हजार नौ सय ६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि/कलाकारले सयौँ कविता र चित्र कोरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिए ।

रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न रु तीन करोड ६५ लाख बराबरको लागत अनुमान गरिएकामा तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ ।

गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गते सम्म छ । रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भर्‍याङ, पदमार्ग र खाजा घर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्टसमेत निर्माण गरिने जनाइएको छ ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ