अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

काभ्रेपलाञ्चोक । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ ।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनै पनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए। आइतबार तीन वटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उनले बताए।

“आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धार कार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भने।

रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताए। “हामी दैनिक कामको सिलसिलामा नमोबद्धको भकुण्डे बजार र सदरमुकाम जानुपर्थ्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उनले भने। शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उनले बताए।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए। उनका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । राजमार्गको मंगलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताए। “सडक ठप्प छ, विद्यालय बन्द छन्”, उनले भने। पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाए। चौकीडाँडामा सडक भत्केपछि पैदल यत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताए। “सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ”, उनले भने। श्रेष्ठका अनुसार बगेको सडक पुनः निर्माण गर्न समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार काभ्रेपलाञ्चोकमा हालको बाढी पहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । आज दिउँसोसम्म तीन हजार दुई सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए। उनका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखिएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views