दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगञ्ज, २३ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्ज बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता (MOU) औपचारिक रूपमा सम्पन्न भएको छ ।
उक्त सम्झौता शुक्रबार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार मानवसेवा आश्रम द्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रमका कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियत सहित प्रदान गर्नेछ ।
सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फ बाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी, र मानवसेवा आश्रमका तर्फ बाट संरक्षक देवेश प्रसाद ले हस्ताक्षर गर्नु भयो ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक सहनवाज अन्सारी, CIO ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्व विद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ ।
नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मात्र होइन—‘सेवा भन्दा पनि पर’ (Service Beyond) भन्ने भावनाका साथ समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।









