काठमाडौँ । धादिङ र नुवाकोट चल्ने यातायात गंगबुस्थित बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।
काठमाडौँ महानगरले एकीकृत बस पार्कमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँमा हुनुपर्ने भन्दै कडाई गरेपछि धादिङ र नुवाकोट चल्ने यातायात गंगबुस्थित बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।

ल्होत्से वहुउद्देश्यीय प्रा. लि. का मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार अहिले नुवाकोटतर्फ चल्ने करि ६५ वटा धादिङतर्फ चल्ने करिब ९० वटा सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । यी सवारी साधन सञ्चालन गर्ने व्यावसायीले माग गरे अनुसारको ठाउँ निर्माण कार्य भइरहेको मल्लले बताए ।
प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा सवारी साधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यात्रु चढाउने तथा ओराल्ने पनि बसपार्क बाहिरैबाट गर्ने गरेका थिए ।
बस पार्कमा लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । वसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ ।
नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।








