काठमाडौँ । ट्रम्प प्रशासनको महत्वपूर्ण डायरेक्टर अफ नेशनल इन्टेलिजेन्सको भूमिकामा रहेकी तुलसी गबार्डले राजीनामा दिएकी छन् । अमेरिकाको नेशनल इन्टेलिजेन्स अन्तर्गत १८ वटा गुप्तचर एजेन्सीहरू सञ्चालन हुन्छन् ।
फक्स न्युजका अनुसार उनका पति दुर्लभ हड्डीको क्यान्सरसँग जुधिरहेका कारण गबार्डले यो कठिन समयमा परिवारसँग रहनका लागि पद छाड्ने निर्णय गरेकी हुन् ।

रिपोर्टअनुसार उनले शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरी राजीनामाबारे जानकारी दिएकी थिइन् । उनको अन्तिम कार्यदिन जुन ३० हुने अपेक्षा गरिएको छ । गबार्डले राजीनामा पत्रमा ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय गुप्तचर कार्यालयको नेतृत्व गर्नु आफ्नो लागि सम्मानको विषय भएको बताएकी छन् । उनले आफ्नो ११वर्षे वैवाहिक जीवनमा श्रीमान् सधैं सबैभन्दा ठूलो सहारा बनेको उल्लेख गर्दै कठिन समयमा साथ दिन अब पदमा रहिरहन नसक्ने बताएकी छन् ।
उनले कार्यकालका क्रममा गुप्तचर प्रणालीमा पारदर्शिता बढाउने र यसको विश्वसनीयता सुधार गर्ने प्रयास भएको पनि दाबी गरेकी छन् ।
गबार्डले आफ्नो कार्यकालमा खुफिया निकायमा ठूला परिवर्तन गर्दै खर्च घटाउने र कर्मचारी संख्या कम गर्ने योजना अघि सारेकी थिइन्, जसबाट वार्षिक करिब ७० करोड डलर बचत हुने दाबी गरिएको थियो । त्यस्तै, उनले सरकारी कार्यालयमा चलिरहेका विविधता तथा समानता सम्बन्धी कार्यक्रमहरू पनि बन्द गराएकी थिइन् ।
उनले ५ लाखभन्दा बढी सरकारी कागजात सार्वजनिक गरेकी थिइन्, जसमा ट्रम्प–रसिया अनुसन्धान र पूर्व राष्ट्रपति जोन एफ केनेडी तथा रोबर्ट एफ केनेडी हत्यासम्बन्धी अभिलेखहरू पनि समावेश थिए ।
यसैगरी, २०१६ को चुनावमा रूसको हस्तक्षेपबारेको अनुसन्धानलाई राजनीतिक रूपमा प्रयोग गरिएको दाबी गर्दै ‘क्रसफायर हरिकेन’ सम्बन्धी दस्तावेज पनि सार्वजनिक गरिएको थियो ।
गबार्डले आतंकवाद विरोधी केन्द्रमार्फत २०२५ मा १० हजारभन्दा बढी व्यक्तिलाई अमेरिका प्रवेशबाट रोकिएको र ८५ हजारभन्दा बढीलाई निगरानी सूचीमा राखिएको पनि जानकारी दिएकी थिइन् ।
राजनीतिक रूपमा उनी पहिले डेमोक्रेटिक पार्टीकी नेतृ थिइन् र इराक युद्धमा अमेरिकी सेनामा समेत सेवा गरेकी थिइन् । पछि २०२२ मा पार्टी छोड्दै ट्रम्पतर्फ नजिकिएकी थिइन् । उनी फक्स न्युजमा पनि कार्यक्रम प्रस्तोता बनेकी थिइन् र पछि रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचारमा समेत सक्रिय भएकी थिइन् ।








