दीपेन्द्र प्रजापति/कालो झोला ।
रौतहट, १० असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला परोहा नगरपालिकाले आफ्नो १० औँ नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख शेख ओखिलको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।
नगर प्रमुख शेख वकिलले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।नगर प्रमुख ओकिलले नगरको समग्र विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताउँदै विकास निर्माणका कार्यलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको प्रारम्भमा नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादवले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमले नगरको विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। साथै नगरको दिगो विकास, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।परोहा नगरपालिकाको १० औँ नगरसभा सौहार्दपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ । प्रस्तुत ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट नगरको विकास र समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ ।







