दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १७ असार । वडा प्रहरी कार्यालय, बिर्ता ले मंगलबार साँझ करिब ०६:०० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. ०९, भुतबंगला नजिक सडकको पश्चिम पेटी बाट प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित १ जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उनले साईकलमा आँप बेच्दै लागु औषध ब्राउन सुगर पनि बेचिरहेको छ, भन्ने समेत व्यहोराको सूचना प्राप्त हुनासाथ त्यहाँ बाट खटिएको प्रहरी टोलीले उक्त स्थान पुगी सुक्ष्म रूपमा अवस्था हेरी निगरानी गर्दा साईकलमा आँप बिक्री गरिरहेको व्यक्ति भारतको बिहार राज्यको जिल्ला बेतिया, थाना गोपालपुर, ग्राम पञ्चायत घोघा, वडा नं. ०२ घर भएका हुन् ।

हाल उनी वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थितमा डेराकोठा भाडामा लिइ बस्ने वर्ष ३० को गुड्डु आलम बताउने व्यक्तिलाई कानून बमोजिम खानतलासी गर्दा साईकलको पछाडीको चक्का नजिक झुण्डयाइएको प्लाष्टिकको बोरामा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ २७ ग्राम २ सय ९० मि.ग्राम फेला परेकोले निज गुड्डु आलमलाई उल्लेखित बस्तु सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइएको कुरा प्रहरी उपरीक्षक सुदीप पाठक ले बताएका छन् ।
साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी समेत दिएका छन् ।








