पोखरा, २८ असोज । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यसपटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्वपूर्ण रहेको भनाइ राखे । ‘धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्वपूर्ण कुरा हो’ सरुभक्तले भने, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताबभन्दा पहिले चेतन–अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले भने, ‘धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चाहने मानिसका पुस्तक चयन फरक हुन्छन् । पुस्तक पढ्नुको अर्थ ‘केही बन्नका लागि’ कि स्वयम् आलोकित हुनका लागि ? प्रश्न गम्भीर छ ।’
पढाइबाट वञ्चित भएका र पारिएकाहरूको सङ्ख्या ठुलो भएको बताउँदै उनीहरूसित पढेकाहरूले क्षमायाचना गर्नुपर्ने उनले तर्क गरे । धर्मको झण्डा बोक्नेहरू नै एकअर्काका रक्तपिपासु हुनु दुःखको कुरा भएको उनको भनाइ थियो । ‘धर्म, जात, राजनीति, सम्प्रदाय र अनेक विभेदका भासमा, राजनीतिक अक्षमता र झगडालु मानसिकताका गर्तमा हामी सबै फसिरहेको यस्तो विकट समयको प्रश्न हो– के पढ्ने ? किन पढ्ने ?’ सरुभक्तले भने, ‘प्रश्न सरल छ, बारम्बार गरिनुपर्ने खालको छ तर उत्तर वर्तमान देशका जटिलताहरू झैँ जटिल हुन सक्छन् ।’ उनले जीवनमा सबैभन्दा महत्वपूर्णपढाइ नै जीवन पढ्नु भएको तर्क गर्दै आफूलाई चिनेर आफ्नो रुचि र आवश्यकताअनुसार पढ्न सुझाए । उनले वैचारिक बहसका लागि र्‍यान्डमले गरेको कार्यक्रम प्रशंसनीय भएको पनि बताए ।
प्रा. डा. चन्दा भद्राले आफूले आख्यान नपढ्ने बताइन् । कथा÷उपन्यासमा नारीलाई अधिकांशतः अवमूल्यन गर्ने गरिएको बताउँदै उनले नारीको सम्मान गरिएको किताब चाहिँ जुनसुकै विधाको भए पनि पढ्ने गरेको भनाइ राखिन् । आफ्नो अध्ययन अनुभव सुनाउँदै नारावादी चिन्तकका रूपमा परिचित भद्राले समाजशास्त्र र अर्थशास्त्रसँग सम्बन्धित किताबहरू आफ्नो रोजाइमा पर्ने गरेको बताइन् । उपहारका रूपमा पुस्तक दिने संस्कृतिको विकास गर्नुपर्नेमा उनको जोड थियो । पठन अनुभव सुनाउँदै भद्राले आफ्नो पचासौँ जन्मदिनमा श्रीमान्ले दिएको महङ्गा उपहारभन्दा पुस्तक आफूलाई महत्वपूर्ण लागेको स्मरण गरिन् ।

लेखक गनेस पौडेलले आफूले स्वस्थानीबाट पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानीको सुरुवात् गरेको बताए । भाडामा समेत किताब लिएर पढेको अनुभव सुनाउँदै उनले पठनले जीवनलाई उचाइमा पुर्‍याउने विचार राखे । फिल्म हेर्दा तृप्त नभएको मानिसलाई पनि किताबले तृप्त पार्ने बताउँदै पौडेलले मान्छेको पहिचान नै पढाइ भएकोमा जोड दिए । उनले आफ्नो रुचिका किताब छनोट गरेर पढ्नसमेत पाठकलाई सुझाए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले पठन संस्कृतिलाई नजिकिँदै गरेका दसैँ, तिहार, नेपाल संवत्, छठ, इद जस्ता पर्वहरूसँग कसरी जोड्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्नका लागि पनि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पठन संस्कृतिको विकासका लागि सोसाइटीले आफ्ना गतिविधि अघि बढाइरहेको दाबी गर्दै उनले पर्वहरूका अवसरमा हुने बिदालाई अध्ययन संस्कृतिसँग जोड्नका लागि कार्यक्रमले सहयोग गर्ने आशा व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।