बजेटमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ, ४ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको गुनासो गर्नुभएको छ । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुँदा कुनै जिल्ला तथा निर्वाचन क्षेत्रमा अत्यधिक तर कुनै जिल्लामा आवश्यक योजना तथा कार्यक्रमका लागि समेत बजेट नपरेको धारणा सांसदहरुबाट आएको हो ।

विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले बजेटमाथिको विभेदले सन्तुलित विकास हुन नसक्ने बताउनुभयो । साथै उहाँहरुले मुलुकको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन गर्दै कूटनीतिक सम्बन्धलाई प्रगाढ तुल्याइनुपर्नेमा जोड दिनुभयो । सांसद अर्जुननरसिंह केसीले बजेटमाथिको क्षेत्रगत विभेदले सन्तुलित विकास हुन नसक्ने धारणा राख्नुभयो ।

उहाँले सिङ्गो प्रदेशको तुलनामा एउटा जिल्लामा बजेट विनियोजन हुनु अत्यन्त दुःखद् विषय भएको बताउनुभयो । “पक्षपाती ढङ्गले बजेट विनियोजन गरिनुहुन्न । यो खालको पक्षपात र असन्तुलित विनियोजनले आम जनतामा असन्तुष्टि बढ्छ, त्यसैले मुलुक र जनताको समान हितलाई ध्यान दिएर बजेट केन्द्रित गरिनुपर्छ”, सांसद केसीले भन्नुभयो । मुलुकमा देखिएका चूनौती र सम्भावनालाई साकार पार्न राष्ट्रिय सहमतिका साथ आगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

सांसद केसीले गृह मन्त्रालयको एक सय दिनको कामको परिणाम सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले पटक-पटक प्रहरी सङ्गठनमा अदली–बदली हुने गरेको भन्दै सुरक्षा निकायमा समान अवसर र प्रोत्साहनको जरुरी भएको उल्लेख गर्नुभयो । सांसद रघुजी पन्तले बजेटमा विभेद हुन नहुने धारणा राख्नुभयो । “म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विषयमा धेरै टिप्पणी गर्न चाहन्न । सत्ता र प्रतिपक्षी सांसदले धेरै कुरा गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “मन्त्री एउटा निर्वाचन क्षेत्र र एउटा जिल्लाको मात्रै हुँदैन, सिङ्गो देशको हुन्छ । मन्त्रालय मात्रै होइन, विभिन्न समुदाय, क्षेत्र, लैंिगक वा निर्वाचन क्षेत्रबाट लडेर आएको सांसद किन नहोस् सांसदको कामले त्यसलाई पुष्टि गर्दछ ।”

उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत ल्याइनुपर्ने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । दक्ष र योग्य व्यक्तिलाई राजदूत बनाइयोस् सांसद पन्तले नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा विचलन नरहेको र असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तमा आधारित देशको परराष्ट्र नीति सन्तुलित रहेको बताउनुभयो । उहाँले बदलिएको परिस्थितिअनुसार विभिन्न मुलुकमा राजदूतहरुको भूमिका प्रभावकारी बनाउन नसकिएको पनि धारणा राख्नुभयो ।

नेपालको सम्भावना भएको क्षेत्र पर्यटन र नेपालले आर्थिक सहयोग लिनसक्ने मुलुकहरुमा नेपाली राजदूतावासलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले सरकारले सकेसम्म राजदूतहरु फिर्ता बोलाउन नहुने भन्दै अनुहार नहेरिकन राजदूतहरुको कामका आधारमा कायम राख्नुपर्नेमा भनाइ राख्नुभयो । ज्ञानचन्द्र आचार्य, डा शङ्कर शर्मा, डा श्रीधर खत्रीलगायत राजदूतहरु सक्षम र योग्य भए पनि उहाँहरुलाई फिर्ता बोलाएर सरकारले राम्रो सन्देश नदिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “योग्यता र क्षमता भएका व्यक्ति पठाउनुपर्छ । विशेषगरी भारत, चीन र अमेरिकामा दक्ष र योग्य व्यक्ति राजदूत पदमा पठाइनुपर्छ ।” सांसद अमनलाल मोदीले देशको वितरण प्रणालीमा भिन्नता रहेकाले क्षेत्रगत विभेद भइरहेको भन्दै सङ्घीयताको मर्म र भावना अनुरुप बजेट सन्तुलित र समान हुनुपर्ने धारणा राख्नुभयो । सांसद सन्तोष परियारले बजेट निर्माणको परम्परालाई तोड्दै राष्ट्रिय सहमतिका साथ बजेट निर्माणसम्बन्धी कार्यविधि ल्याइनुपर्नेमा खाँचो औँल्याउनुभयो । सबै निर्वाचन क्षेत्रमा न्यूनतम बजेट विनियोजन गर्ने विधि र पद्धत्तिको विकास गर्नसके बजेटमाथि टिकाटिप्पणी नआउने उहाँको भनाइ थियो ।

बजेट अर्थराजनीतिक विषय भएको र बजेटले नेपाली जनताको रुपान्तरण, विकास र आर्थिक समृद्धिको आकांक्षलाई गति दिने भएकाले यसलाई सन्तुलित र संयमित बनाउन जरुरी भएको उहाँले धारणा राख्नुभयो । सांसद परियारले कर्णालीको विकास र जनजीवनलाई सहज बनाउन बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गृह प्रशासनमा चाहेर पनि सुधारका काम गर्न नसकिएको भन्दै सुशासन कायम गर्न प्रशासन चुस्त र दुरुस्त बनाउन गृहमन्त्रीले जनताको आशा र अपेक्षा अनुरुप प्रभावकारी रुपमा काम गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।

सांसद परियारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाइनुपर्ने र छिमेकी मुलुक र अरु राष्ट्रसँगको सन्तुलित कूटनीतिक सम्बन्धलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । सांसद प्रेमबहादुर आलेले बजेटमाथिको छलफलमा सांसदहरु क्षेत्रगत रुपमा मात्रै केन्द्रित भएको अन्य जिल्लाको विषयलाई बेवास्ता गरिएको बताउनुभयो । उहाँले डोटी जिल्लाका आयोजनालाई पटक–पटक ताकेता गर्दा पनि बजेट नपरेको भनी गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्री एउटा जिल्लामा वा पालिकामा मात्रै सीमित हुनु राम्रा होइन । मन्त्री सिङ्गो देशको प्रतिनिधि हो । संकुचित भावना राखेर बजेट विनियोजन गरिनुहुन्न ।”

उहाँले डोटीमा ट्रमा सेन्टर स्थापना गर्नेगरी बजेट विनियोजन भएकोमा भने खुशी व्यक्त गर्नुभयो । सांसद रञ्जुकुमारी झाले गृहमन्त्रालयले निर्माण गरेको कारागार व्यवस्थापनको कार्ययोजनामा मधेस प्रदेशका जिल्लालाई नसमेटिएको गुनासो गर्नुभयो । कारागारको दयनीय अवस्था रहेको भन्दै देशभरका कारागार अनुगमन र व्यवस्थापनलाई ध्यान दिन जरुरी भएको उहाँको भनाइ थियो । मधेस प्रदेशका सीमावर्ती क्षेत्रबाट लागूऔषध नियन्त्रणका लागि गृहमन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा प्रभावकारी कदम चाल्न उहाँको सुझाव थियो ।

उहाँले राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमातहत ल्याइनुपर्ने र अनुसन्धानलाई व्यवस्थित रुपमा अगाडि बढाइनुपर्ने खाँचो औंल्याउनुभयो । राजदूत गरिमामय पद भएपनि भागबण्डाका आधारमा नियुक्ति गरिने प्रवृत्तिले मुलुकको कूटनीतिक सम्बन्धमा समस्या हुने गरेको भन्दै राजदूत पदको गरिमा कायम गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद अब्दुल खानले गृहमन्त्रालयले शान्ति सुरक्षा कायम गर्ने कार्ययोजनामा सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको सेवासुविधा र सीमा क्षेत्रको पहुँच सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने खाँचो औंल्याउनुभयो । सीमा नाकाका मुख्य भन्सारलाई व्यवस्थित बनाइनुपर्ने, कारागार व्यवस्थापन चुस्त र प्रभावकारी बनाइनुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपाली श्रमिकको बाहुल्यता भएका मुलुकका राजदूतावासलाई सक्रिय र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । विदेशमा नेपाली राजदूतावासको आफ्नै भवन हुनुपर्ने उहाँको भनाइ थियो ।

  • Related Posts

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।…

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङ बारे उठेका प्रश्नको छानबिन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 49 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 27 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 51 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 25 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 43 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 28 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग