सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति

भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उहाँले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको छ भन्नुभयो । उहाँले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी दिनुभयो ।

आयोजना प्रमुख दासले भन्नुभयो, “वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।”

सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले साँगामा निकै समस्या परिरहेको उहाँले बताउनुभयो । रु आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको बताउनुभयो ।

स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने, त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उहाँले जानकारी दिनुभयो । प्रजिअ श्रेष्ठले भन्नुभयो, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ थियो, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ, हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ््ने काम पुनःनिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छाँै ।

मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाउँदै उहाँले अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको बताउनुभयो । जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या आएको जनाउँदै उहाँले प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको बताउनुभयो । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उहाँले बताउनुभयो । उहाँले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।” यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ ।

उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए ।

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।

  • Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 45 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views