खेतीमा रमाउँदै वनकरिया समुदाय

हेटौँडा, २६ असार : यहाँको मनहरि गाउँपालिका–४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजानुहुन्छ । १८ वर्ष अघिसम्म वन केराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उहाँले बिर्सनुभएको छैन । तर, उहाँ अहिलेको जीवनमा रमाइरहनुभएको छ ।

खेती गर्ने र अन्न भित्र्याएर भात खाने सपनासमेत नदेखेका उक्त समुदाय अहिले रोपाइँको चटारोमा छन् । कहिले खनिउँ, निगुरो र माछा मारेर जीविका चलाएको सन्तमायाले सुत्केरी हुँदा पनि कन्दमूलको भरमा बाँच्नुपरेको स्मरण गर्नुभयो । विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीले चामलको भात खान पाएको १८ वर्षमात्र भयो, त्योभन्दा अगाडि त वनमा जे भेट्यो त्यही खायो, खेतबारी नि थिएन किसानी गर्न जानिएको पनि थिएन ।” मान्छे देख्दा डरले भाग्ने आफूहरु अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा उहाँ आफै छक्क पर्नुहुन्छ । “योभन्दा स्वर्ग अरु हुन्न”, उहाँले भन्नुभयो । हाल बिताइरहेको जीवनशैलीबाट आफूहरु सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

वनकरिया समुदायको मुखियासमेत रहनुभएकी उहाँलाई आफ्नो जवानीको दिनहरु जङ्गलमा जङ्गली मान्छेजस्तो भएर बिताउन बाध्य भएको सम्झना आउने गर्छ । सरकारले आफूहरुलाई खोजेर बस्तीमा राख्दासम्म सामाजिक जीवनको बारेमा जानकारी नभएको बताउने सन्तमाया अहिले सुखदुःखका कथा अरुलाई सुनाएर जीवन बाँच्न प्रेरणा दिने गर्नुहुन्छ । तर, उहाँलाई दुःख लाग्ने कुरा हालसम्म आफु बसेको जग्गाको स्वामित्व नपाउनु रहेको छ । अठार वर्षदेखि खनीखोस्री गरेको जमिनमा पसिनासँगै जीवन जोडिएको उहाँ बताउनुहुन्छ ।

समुदायमा आउनु अगाडि जङ्गली कन्दमूलको सहारामा जीवन बिताउने वनकरिया समुदाय पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन हुँदै गएका छन् । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदाय हाल कृषि र उद्यममा आत्मनिर्भर बन्ने प्रयासमा छन् । वनकरिया समुदायको गोठमा भैँसी, बाख्रा, कुखुरालगायतको पशुपन्छी छन् भने उनीहरुले दूध, दही, घ्यू, कुखुरा र खसी बेच्नुको साथै प्राचीनकालदेखि गर्दै आएको माछा मार्ने कामलाई निरन्तरता दिइरहेका छन् ।

सोही बस्तीकी सुन्तली वनकरियाले खेतीपातीबाट छ महिनाभन्दा बढी खान पुग्ने र बाँकी समय सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले सहज बनाएको बताउनुहुन्छ । उहाँका अनुसार यीबाहेक समुदायको महिला मिलेर साबुन बनाउने काम थालेका छन् । त्यसले पनि आम्दानी हुन थालेको उहाँले बताउनुभयो । सरकारले प्रति व्यक्ति मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । वनमा बस्दा खेतीपातीमा मजदुरीको काम पाउनसमेत गाह्रो हुने गरेकामा अहिले खेती गर्न पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ ।

वनकरिया समुदायबाट पाँच किशोरी र एक किशोरले एसइई परीक्षा उत्तीर्ण गरिसकेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा विसं २०७२मा उत्तीर्ण गर्नुभएकी पम्फा वनकरिया ‘ल्याब असिस्टेन्ट टेक्निसियन’ विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्ट पदमा काम गरिरहनुभएको मुखिया सन्तमायाले जानकारी दिनुभयो ।

त्यसैगरी दुई जनाले हाल हेटौँडामा रहेर पत्रकारिता अध्ययन गरिरहनु भएको छ । मातृसत्तात्मक समाज रहेको यस समुदाय हाल परिवर्तनउन्मुख देखिएको छ । ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएको आदिवासी जनजातिमध्येको एक जाति हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटेको भन्दा कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति हो । हाल यहाँ २२ घरधुरीमा ९२ जना वनकरिया बसोबास गर्छन् ।

लोपोन्मुख जाति वनकरियाको बसोबास रहेको यो मुलुककै एकमात्र गाउँपालिका र एकमात्र वडा हो । यहाँका वनकरियाले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउनुका साथै दुई पटकसम्म चुनावमा भोट हाल्नसमेत पाएका छन् । तर, २० वर्षको सम्झौता गरेर सरकारले बस्तीमा राखेका उनीहरु बसेको १८ वर्ष बित्दासमेत् स्थायीरुपमा बसोबास गर्ने जग्गाको स्वामित्व नपाएकामा उनीहरुको गुनासो छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 63 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची