‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो

म्याग्दी । मङ्गला गाउँपालिका-५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।

हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहकलाई चामल पुर्‍याउन ठिक्क हुन्छ,” उनले भने “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेती नै घट्दै गएको छ ।”

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढे पनि खेती घट्दै गएको छ । सहर बजारका तारे होटलदेखि घरानीया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला-५ छिसवाङका दुर्गाबहादुर खत्रीले बताए ।

“गौरिया धान पाक्दा खेत नै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भने “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन । गौरियानै खोज्छन् ।”

गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुँदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन ।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कँडेल बताउछन् । “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र रु छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,” उनले भने “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन् ।”

आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताए । “पहिले सबैले गौरिया गर्दथे,” उनले भने “नयाँ जातको धान खेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो ।”

गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौ रया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुन्छ । पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोग हुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरू बताउँछन् ।

नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

“जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,” उनले भने “कृषकहरूले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रूपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ ।”

गौरिया धान खेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन । म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन् ।

यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ विधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताए।

रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताए ।

“अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यावसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्त्व स्थानीय स्तरमै सीमित भएको छ,” उनले भने “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रवर्द्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ ।”

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 84 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-