छठ मनाउन सरसापट खोज्नु पर्दैन : मिथिलावासी

महोत्तरी । मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन् । दीपावली सकिएलगत्तै अब मंगलबारदेखि नै पर्व छठ सुरु हुँदैछ । मिथिलामा दीपावली र छठसहितका पर्व श्रमजीवीका लागि पर्खाइका हुन्छन् । यी पर्वमा थप आर्जनको अवसरले गरिब किसान र श्रमिक मजदुर र यिनका परिवारमा अलिकति खुसी थपिने गरेको छ ।

पर्वमा थोरै जग्गा भएका किसानका घर करेसामै उत्पादित फसलले राम्रो बजार पाउँछन् । करेसाबारीमा फुलेका फूल, दुई/चार झ्याङ केरा, केही अदुवा, बेसार, बोट ज्यामिर र थोरथार हुर्केका मूलाबाटै पनि यी पर्वमा राम्रो कमाई हुन्छ । दीपावलीमा पनि यी उत्पादन राम्रै मूल्यमा बिक्छन् । छठका लागि त यी अनिवार्य सामग्री नै हुँदा झन् राम्रो मूल्य पाउने किसानले आश सँगालेका हुन्छन् ।

दीपावली पर्वको गोधन तथा गोवर्द्धन पूजाका दिन घरपालुवा पशुवस्तु (गाई, गोरु, बाछाबाछी) लाई दाम्लो फेराउने चलनले यसबेला दाम्लो, गर्दामी (पशुको गलामा लगाउने कलात्मक डोरी) बनाउने सीपका गरिब श्रमिकले राम्रो आर्जन गरेका छन् । गरिब किसानका उत्पादनले महत्त्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका लागि खास अवसर बन्ने गरेका हुन् ।

“यसपालि गर्दामी, दाम्लो र राइस (पशुवस्तु डोर्‍याउन प्रयोग गरिने डोरी) बेचेर आठ/१० हजार हात पर्‍यो”, पाटका सुत्री बाटेर यस्ता सामग्री बनाउने सीपका भंगाहा-४ रामनगरका ५५ वर्षीय छेदी महतो भन्छन् “यो कमाईले आफ्नो छठ मनाउन कहीँ सरसापट खोज्नु नपर्ला ।” गोधन पर्वलक्षित यी सामग्री अन्यबेला भन्दा अलि कलात्मक बनाइने हुँदा मूल्य पनि राम्रो पाइने गरेको उनको भनाइ छ ।

यस्तै, दीपावली पर्वकै लक्ष्मीपूजाका दिन घर करेसाबारीमा केही झ्याङ केरा लगाएका गरिब किसानले थाम बेचेर केही आम्दानी गरेका छन् । यसैगरी, केराका घरीले पनि छठमा राम्रो मूल्य पाउँछन् । मिथिलामा लक्ष्मीपूजा र छठ पर्वमा स्वागतद्वार बनाइन केराका थाम प्रयोग गरिने चलन र दुवै पर्वमा केरा फल चढाइने हुँदा केराखेतीका किसानका लागि यी पर्व आर्जनको अवसर बन्दै आएको हो ।

अझ छठमा त केराका घरी नै चढाइने चलनले पर्वविशेषमा यसको बिक्री निकै बढ्ने गरेको छ । यसैगरी, किसानका घर करेसाबारीमा लगाइएका फूल, उखु, अदुवा, बेसार, भोगटे र ज्यामिरलगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । छठमा यी कृषि उत्पादन चढाइने अनिवार्य पूजा सामग्री हुन् ।

यसैगरी, दैनिक जीवनमा अरू बेला अब प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी (पाला) दीपावली र छठ पर्वका खास सामग्री बेचेर डोम, बिन र कुम्हाल समुदायका श्रमजीवीले आर्जन गर्छन् ।

यी सामग्री दीपावली र छठ दुवैमा प्रयोग गरिन्छन् । केही दशक अघिसम्म दैनिक प्रयोजनमा प्रयोग गरिने यी सामानको ठाउँ अब प्लास्टिक र सिल्भरका भाँडाकुँडाले लिएपछि पछिल्ला दिनहरूमा यी सामान पर्वविशेषका सामग्री मात्र बनेका छन् । यसैले बाँसको चोया र कप्टेराका सामग्री बुन्ने डोम र विन एवम् माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको यी पर्वमा निकै व्यस्तता बढ्ने गरेको छ । दुवै पर्वको आर्जनले आफ्नो चाडबाड मनाएर वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । यो बेला घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

“यसपालि दियाबाती (दीपावली)मा दियौरी, घैँटा, ढकना र तौलासहितका सामान बेचेर आफ्नो घरको दीपावली र छठ खर्चको जोहो भएको छ, अब छठका लागि बिक्री हुने रकम अन्य बेलाको नगद खर्चका लागि साँचिन्छ”, महोत्तरीको औरही-४ का महेश पण्डित कुम्हालले भने । यसैगरी, बिन र डोम (मरिक) समुदायले पनि नगद खर्चको जोहो यी पर्वबाट हुने गरेका बताएका छन् ।

अहिले दीपावलीका लागि सामग्री बेचेका श्रमिक अब छठका सामग्री बेच्ने तयारीमा छन् । यस भेगमा अहिले पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ । पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ । यसपालि दसैँ अघिको बेमौसमी वर्षाले धानबाली र अन्य तरकारीबाली निकै क्षति गरेपछि पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्त्व पाउने आफ्ना कृषि उपज (अदुवा, उखु, ज्यामिर, केरा आदि) बेचेर छठ पर्व टार्ने धुनमा देखिन्छन् ।

“आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ” बर्दिबास-९ पशुपतिनगरकी शैल महतो भन्छन् “छठमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु ।” करेसाबारीको दुई/तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा छठ सहजै टर्ने उनको विश्वास छ ।

हिन्दू वैदिक परम्पराका दिवाली र छठ पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका व्यक्तित्वले बताउँछन् । मुख्य खेती (अन्नबाली) लगाउने समय सकिएको र नयाँ बाली (धान) भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुसीको अवसर हुने गरेका बर्दिबास-७ का ७० वर्षीय विश्वेश्वर यादव बताउँछन् ।

  • Related Posts

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। रुबीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३…

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 39 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 57 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ