बाढीपीडित पुनर्वास नहुँदा टहरामा बित्यो दसैँतिहार

पाटन(ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बसेका छन्। परिवारका सबै सदस्य गुमाएर एक्लै बाँचेका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्य गुमाउँदाको पीडाले विक्षिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उनका दाजु जिरामानले बताए । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उनले भने ।

बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झरेका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाएनन् । अरूलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देखे, तर उनी घर पुग्नै पाएनन् ।

“पहिरो यति तीव्र गतिमा झर्‍यो कि उनी पुग्नुअघि उनको घर पुर्‍यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भने ।

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्‍यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उनलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परे ।

“भर्‍याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भने । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित छन् । उनका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वदेश फर्केका थिए ।

डुकुमानलाई आश्रय दिएर राखिरहेका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्‍यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उनले दुखेसो पोखे ।

बाढीपहिरोबाट विस्थापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहेका छन् । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आएकी बुद्धिमानकी श्रीमतीले भनिन् ।

मानिखेलमा छको मृत्यु, दुई बेपत्ता गरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताए ।

“मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उनीहरुले पाइसकेका छन्, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भने , “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।”

वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उनले भने ।

वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एकरदुई दिनमा वितरण गर्नेछौँ”, उनले भने ।

विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताए ।

“विस्थापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उनीहरूलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरूप पाउनेछ”, प्रमुख फुयाँलले भने ।

महाँकाल गाउँपालिकामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढी पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 63 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 108 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-