सिसापाङमामा नेपालको झण्डा फहराउँदा….

काठमाडौँ । चीनको तिब्बतमा रहेको विश्वको १४ औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन् ।

उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन् । “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुसी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भनिन, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरबको अनुभूति हुँदो रहेछ ।”

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेकी हुन् । “जे जस्तो भए पनि चीनमा गएर देशको झण्डा फैलाउन पाउँदा निकै खुसी लागेको छ”, उनले भनिन “विदेश गएपछि मात्रै नेपालको महत्त्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन । एक पटक विश्वभरको ध्यान उनीतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक संघर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँ अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन् । “जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ ।”

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न रहेकी छन् । । उनी सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रूपमा पनि आबद्ध छन् । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन् । उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन् ।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन् । हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन संघले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ । उनको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को कीर्तिमान पनि छ । दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन् । ।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरूको विश्वास छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताए ।

“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्व बजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उनले भने । सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवर्द्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भनिन, “नेपाली आरोहीको विश्व कीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवर्द्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउँछ । युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ ।”

निमा रिञ्जी शेर्पाको नयाँ कीर्तिमान
कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाएकी छन् । १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका हुन् । शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएकी हुन् । रिञ्जी शेर्पाले असोज १६ गते बिहान सिसापाङ्मा हिमालको सफल आरोहण गरेकी थिइन् । शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेकी थिइन् ।

कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत
तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनको सिसापाङ हिमाल आरोहण गरेर स्वदेश फर्किएका पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) को नेतृत्वमा विमानस्थलमा विशेष स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा पर्वतारोहण संघसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर संघ गुरुङ संघ शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, बम्बु थामिचा किदुगलगायतका संघसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए ।

यसैबीच कीर्तिमानी आरोहीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत तथा सम्मान गरेका छन् । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सिसापाङमा आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरू ५०औँ पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्ने निर्मल पुर्जालाई स्वागत गरिएको छ ।

त्यस्तै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू सफल आरोहण गर्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित नौ जना नेपाली पर्वतारोहीहरूलाई आज स्वागत गरिएको थियो ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-