सिसापाङमामा नेपालको झण्डा फहराउँदा….

काठमाडौँ । चीनको तिब्बतमा रहेको विश्वको १४ औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन् ।

उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन् । “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुसी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले भनिन, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरबको अनुभूति हुँदो रहेछ ।”

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेकी हुन् । “जे जस्तो भए पनि चीनमा गएर देशको झण्डा फैलाउन पाउँदा निकै खुसी लागेको छ”, उनले भनिन “विदेश गएपछि मात्रै नेपालको महत्त्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन । एक पटक विश्वभरको ध्यान उनीतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक संघर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँ अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसक्नुभएकी दावाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन् । “जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ ।”

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न रहेकी छन् । । उनी सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रूपमा पनि आबद्ध छन् । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन् । उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन् ।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन् । हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन संघले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ । उनको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को कीर्तिमान पनि छ । दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन् । ।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरूको विश्वास छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताए ।

“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्व बजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उनले भने । सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवर्द्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भनिन, “नेपाली आरोहीको विश्व कीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवर्द्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउँछ । युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ ।”

निमा रिञ्जी शेर्पाको नयाँ कीर्तिमान
कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाएकी छन् । १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका हुन् । शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएकी हुन् । रिञ्जी शेर्पाले असोज १६ गते बिहान सिसापाङ्मा हिमालको सफल आरोहण गरेकी थिइन् । शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेकी थिइन् ।

कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत
तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनको सिसापाङ हिमाल आरोहण गरेर स्वदेश फर्किएका पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) को नेतृत्वमा विमानस्थलमा विशेष स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा पर्वतारोहण संघसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर संघ गुरुङ संघ शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, बम्बु थामिचा किदुगलगायतका संघसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए ।

यसैबीच कीर्तिमानी आरोहीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत तथा सम्मान गरेका छन् । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सिसापाङमा आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरू ५०औँ पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्ने निर्मल पुर्जालाई स्वागत गरिएको छ ।

त्यस्तै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू सफल आरोहण गर्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित नौ जना नेपाली पर्वतारोहीहरूलाई आज स्वागत गरिएको थियो ।

  • Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-