अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ।

मुटु रोग विशेषज्ञ डा.राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ।

यी सबै नसर्ने रोग हुन्। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ। खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ।

‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा.कोजु भन्छन्।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्।

जुन विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्। नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन्।

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रूपमा ज्यान गुमाउने गरेका छन्। नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ।

सुर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम् भूमिका खेलिरहेका छन्। नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सूक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधरणतया नसर्ने रोग भन्ने गरिन्छ।

यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरू प्रभावित हुन सक्छन्। उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्छन्, ‘वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ। सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ। यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन्।’

उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताए। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।

नसर्ने रोग यदि प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ।

बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्करवृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्क्रियता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताउँछिन्।

उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताउँछिन्।

डा. थापाका अनुसार समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो। पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ।

त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ। त्यो ६ जिल्लामा लागू भएको छ। नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको उनको भनाइ छ।

मुटुटरोग विशेषज्ञ डा. कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताए।

‘मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ। स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ। गुलियो पेय पदार्थ कम खाने। व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ,’ डा.कोजु भन्छन्।

उनकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ।‘राज्यले पनि स्कुलको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ,’ उनले भने।

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रूपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 34 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 85 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 75 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 72 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 55 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 42 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा