असार ४, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले बिहीबार कार्यदल गठन गरेका हुन् । कार्यदलमा ८ सदस्य छन् । ‘कार्यदललाई हाम्रो माग र समस्याबारे प्रत्यक्ष रुपमा सुनाइरहेका छौं । उहाँहरुले हाम्रो समस्या सुन्दै यसबारे गम्भीर अध्ययन गर्ने बताउनु भएको छ,’ डा. नेपालीले भने ।