प्रहरीले एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ८६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बबरमहल र बानेश्वरबाट प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

बबरमहलबाट ४० र मीनभवनबाट ४६ जनालाई पक्राउ गरिएको एसपी राठौरले कान्तिपुरलाई जानकारी दिए ।

पक्राउ परेकाहरुलाई सिंहदरबार र भृकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार एमसीसीको विरोधमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत उपस्थिती भएका थिए ।