कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो

लमजुङ । लमजुङस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।

यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरूबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजार मूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो । कारागारमा तरकारी पकाउँदा रु. ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा रु एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक रु. ८० र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ ।

हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक रु नौ हजार ४० सिदा रकम र करिब ८० केजी चामल उपलब्ध हुने गरेको छ । मासिक रु. दुईलाख ७१ हजार दुईसय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक रु चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् ।

प्यारोल र लगत पठाउँदा चौकीदारले रु. एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरू बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरूको भनाइ छ । पहिलो पटक आउने कैदीबन्दीबाट रु पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए । सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही सयमअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् ।

कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहेका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आएका छन् । उनले अनियमितता नगरेको बताए । तरकारी किलोकै रु दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताए । दैनिक १५-१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उनको भनाइ छ । उनले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताए ।

उनले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि रु पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्वीकारे । “भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौँ, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ”, उनले भने । केही वर्षपहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उनले सुनाए ।

उनले आफैँ कारागार आउँदा आन्तरिक कोषका लागि भनी रु १० हजार मागेको र पछि रु पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताए । नाइके श्रेष्ठले भने, “यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।” आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उनको भनाइ छ ।

चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताए । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताए । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उनको छ । “म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ । त्यहाँ उपचार गर्दा रु दुई हजार छ सय खर्च भयो, मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक हजार आठ सय मात्र पाएँ”, चौकीदार मगरातीले भने ।

कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुटेका रोशन तामाङले जानकारी दिए ।

कारागारका निमित्त जेलर सुमिता मरासिनीले भने, “कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौँ ।” हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उनले बताए । “हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो । यी विषयमा हामी कदम उठाउँछौँ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताए । “त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरूको पनि छुट्टै शासन हुन्छ”, प्रजिअ गुरुङ्ले भने, “ठूला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छ भने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल