दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १४ असार । वीरगंज महानगरपालिकालाई स्वच्छ र सुन्दर राख्न अहोरात्र खटिने सरसफाइकर्मी र फोहरमैला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बीच देखिएको गतिरोध अन्ततः समाधान भएको छ ।
वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार सदाब हुसैनका अनुसार कार्यवाहक प्रमुख आलमको विशेष सक्रियता तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहोराको विशेष उपस्थितिमा भएको सघन वार्ता पश्चात आन्दोलनरत सरसफाइकर्मीहरू सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिई आजै देखि काममा फर्कन सहमत भएका छन् ।
महानगरपालिकाको आफ्नै सभाहलमा जनप्रतिनिधि, वडा अध्यक्षहरू र कर्मचारीहरूको रोहबरमा दुवै पक्षलाई सँगै राखेर गरिएको यस सकारात्मक पहलले वीरगंजको फोहरमैला व्यवस्थापनमा देखिएको समस्यालाई निकास दिएको छ ।
प्रेस सल्लाहकार हुसैनले दिएको जानकारी अनुसार, सहमति पत्रमा सरसफाइकर्मीहरूका जायज मांगहरूलाई सम्बोधन गर्दै दीर्घकालीन व्यवस्थापनका बुँदाहरू समेटिएका छन् । जस अन्तर्गत मजदुरहरूको मुख्य चासोको विषय रहेको पारिश्रमिक भुक्तानीलाई व्यवस्थित बनाउन महिना व्यतित भएको ५ देखि १० गते भित्र अनिवार्य रूपमा उपलब्ध गराउने प्रतिबद्धता ठेकेदार पक्षले जनाएको छ ।
यसैगरी दैनिक ८ घण्टा काम गरे बापत नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने, सोभन्दा बढी समय काम गर्ने सरसफाइकर्मीलाई नियमअनुसार ओभर टाइम (अतिरिक्त समय) को व्यवस्था मिलाइने र कामको सिलसिलामा कोही घाइते भएमा ठेकेदार पक्ष बाटै प्राथमिक उपचार खर्च बेहोरिने सहमति भएको छ ।
मजदुरहरूको आत्मसम्मान र कार्यस्थलको सुरक्षालाई उच्च प्राथमिकता दिँदै नाइके वा ठेकेदारका तर्फ बाट कसैले पनि अभद्र व्यवहार गर्न नपाउने र फोहरमैला व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा सामग्रीहरू समयमै ठेकेदार पक्षले उपलब्ध गराउनु पर्ने सर्त पारित गरिएको छ ।
साथै प्राविधिक कारणवश नागरिकता नभएका तर नेपाली बालिक नागरिक रहेका रैथाने सरसफाइकर्मीहरूलाई काम बाट निष्कासन नगरिने मानवीय निर्णय समेत यस सहमतिमा समावेश गरिएको प्रेस सल्लाहकार हुसैनले बताउ नुभयो ।
उक्त महत्त्वपूर्ण सम्झौता पत्रमा ठेकेदार पक्षका तर्फ बाट एन.के. इन्टरनेशनल मेनेजमेन्ट प्रा. लि. का संचालक शिव कुमार गुप्ता र आन्दोलनरत पक्षका तर्फ बाट प्रतिनिधिहरू भुवालि मलिक, पिन्टु मलिक, चन्दन मलिक, किसन मलिक, चन्दा देवी, अखिलेश मलिक, विशाल मलिक तथा किसन मलिक (ड्राइभर) ले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
कार्यवाहक प्रमुख इम्तियाज आलमको कुशल नेतृत्वदायी समन्वय र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहोराको विशेष उपस्थितिले वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन मुख्य भूमिका खेलेको हुसैनले जानकारी दिनु भयो ।
यस सहमतिसँगै नगरको सरसफाइ कार्य पुनः सुचारु भई महानगर थप स्वच्छ र सुन्दर बन्ने विश्वास लिइएको छ ।







