काठमाडौँ, २५ चैत्र । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले आफ्नो कुल, वंश र परम्परालाई कसैले पनि कहिल्यै भुल्न नहुने बताउनुभएको छ ।

उहाँले अर्याल समाज नेपालले काठमाडौँ जिल्ला भेला तथा नयाँ वर्ष २०८१ को अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताउनुभएको हो । साथै, पदीय हैसियत क्षणभंगुर हुने र नातासम्बन्ध र दुःखसुःखमा बन्धुवान्धवहरुले नै सहयोग गर्नुपर्ने धारणा राख्नुहुँदै अर्याल समाज नेपालको भावी नीति स्पष्ट खाकाका साथ अघि बढ्न र त्यसको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा गृह सचिव एकनारायण अर्यालले अर्याल बन्धुबन्धकहरुसँगको भेटघाटले आफूलाई थप उर्जा मिल्ने धारणा राख्दै देश विदेशमा रहेका बन्धुवान्धकहरुको एकता, हातेमालो र दुःखदुःखमा समाजले अभिन्न कार्य गर्नुपर्ने बताउँदै सबैलाई समाहित हुन अनुरोध गर्नुभयो ।
चैत्र २४ गते शनिबार केएमसी कलेज बागबजारमा आयोजित एक कार्यक्रमबिच कार्यक्रम भव्यताको साथ सम्पन्न भयो । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, गृह सचिव एकनारायण अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राहदानी विभागका महानिर्देशक तिर्थ अर्याल, भन्सार बिभागका महानिर्देशक रमेश अर्याल, अर्याल समाजका केन्द्रिय अध्यक्ष ध्रुब अर्याल, पूर्व राजदुत झबिन्द्र अर्याल लगायत विभिन्न पेशा, व्यवसाय गरी राजधानीमा बसोबास गर्ने अर्यालय बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सोही अवसरमा अर्याल वंशका ८४ वर्ष पार गरेका ४ जेष्ठ नागरिकहरुलाई समाजले टीका, माला र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
समाजको सक्रियतामा सनातन संस्कृति, वंश पुस्ताको इतिहास खोजी, वंशावली पुर्नलेखन आपसी भाइचारा अभिवृद्धि, बन्धुत्व भाव, सामाजिक सेवा, युवा पुस्तामा संस्कृति वंश हस्तान्तरण लगायतको पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गरिरहेको समाजका सचिव कुशल अर्यालले बताउनुभयो ।
कार्यक्रममा उपस्थिति सबैले एकआपसमा दुःखसुखमा समाजले उल्लेख्य कार्य गर्न सक्ने बताउँदै आफूले सकेको सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । अर्याल बन्धुहरुभन्दा अब्बल छन् भन्ने बारे कुराले भन्दा पनि रचनात्मक क्रियाकलापहरुले देखाउनुपर्ने बताउँदै नीतिगत योजनाका साथ आगामी कार्यहरु अगाडि बढाइएको अर्याल समाज नेपालका अध्यक्ष गोविन्द अर्यालले जानकारी दिनु भयो ।
कार्यक्रममा अर्याल वंशका उच्च पदस्थ राजनीतिक, प्रशासनिक विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ । सो अवसरमा कार्यक्रमा अर्याल बन्धुहरूको अतिरिक्त चेलीहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाडौँ जिल्ला भेलाले गोविन्द अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसचिव सर्वसम्मत ढंगबाट चयन गरेको छ । जसमा उपाध्यक्ष हरिओम अर्याल, सचिव कुशल अर्याल, सहसचिव कमला अर्याल, कोषाध्यक्ष श्रीधर अर्याल र सदस्यहरु द्वारिका अर्याल, मधेश अर्याल, पोषकनाथ अर्याल, नवराज अर्याल, प्रवल अर्याल र टोपलाल अर्याल हुनुहुन्छ । त्यस्तै समाजको सल्लाहकारमा डा. विनोद आत्रेय, डा. रामहरि अर्यालय, डा. ऋषिकान्त अर्याल, रामेश्वर अर्याल, शिवराम अर्याल, शरणकुमार अर्याल, कृष्णकुमार अर्याल र राजेन्द्र अर्याल मनोनित भएका छन् ।







