क्रिकेटमा नेपालका २० विश्व कीर्तिमान

१८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी–२० विश्वकप खेलेको छ ।

खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले अन्तर्राष्ट्रिय जगतमा दिनप्रतिदिन छाप छाडेको छ । नेपालको अबको लक्ष्य एसोसिएट शीर्षदेखि टेस्ट मान्यतासम्म छ । विश्व क्रिकेटमा कहिलेकाहिँ अद्भुत र उत्कृष्ट प्रदर्शनका साथ नेपालले ध्यान आफूतिर तान्ने गर्दछ ।

उत्कृष्ट प्रदर्शन गर्नेक्रममा नेपालले थुप्रै विश्व कीर्तिमानहरु पनि बनाएको छ । विश्व क्रिकेटमा नेपालले बनाएका प्रमुख २० कीर्तिमानहरु यसप्रकार छन् ।

१. ९ बलमा दीपेन्द्रको अर्धशतक

युवा अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दीपेन्द्रले सन् २०२३ सेप्टेम्बरमा एसियन गेम्समा मंगोलियाविरुद्ध टी–२० आईमा ९ बलमै अर्धशतक(५० रन) पूरा गरेका थिए । क्रिकेटमा ८ बलमा ५० रन बन्न समीकरण नहुँदा अब यो कीर्तिमान कहिल्यै तोडिने पनि छैन ।

दीपेन्द्र अघि भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक हानेका थिए । टी–२० मान्यता प्राप्त खेलमा भारतको घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा गत वर्ष ११ बलमा अर्धशतक हानेका थिए ।

२. टी–२० मा पहिलो पटक ३ सय र उच्च योगफल

नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । टी–२० पुरुष क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि खेल र प्रतियोगितामा ३ सय रन बनेको थियो ।

नेपाल अघि अफगानिस्तानले आयरल्याडविरुद्ध तथा चेक रिपब्लिकनले टर्कीविरुद्ध टी–२० आईमा समान २७८ रन बनाएका थिए ।

नेपालपछि टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले २०२४ मा बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । महिला क्रिकेटमा भने नेपालले बनाउनु अघि नै टी–२० मा ३ सय रन बनिसकेको थियो ।

३. टी–२० आईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । उक्त टी–२० आई र टी–२० दुबैको रन अन्तरको हिसाबमा सर्वाधिक फराकिलो जित हो ।

नेपाल अघि टी–२० आईमा चेक रिपब्लिकनले टर्कीविरुद्ध २५७ रनको जित हात पारेको थियो ।

४. दीपेन्द्रको ५ सय स्ट्राइकरेट

दीपेन्द्र टी–२० आईमा १० बलमाथि खेल्दा ५२० को स्ट्राइकरेटमा ब्याटिङ गर्ने पहिलो खेलाडी हुन् । उनले मंगोलियाविरुद्ध १० बलमा ५२ रन जोड्दै उक्त कीर्तिमान बनाएका थिए ।

उनीअघि टी–२० क्रिकेटमा २०१६ मा जिम्बावेको घरेलु प्रतियोगितामा माल्कम वालरले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० रन थियो ।

५. सन्दीप ओडीआईमा सर्वाधिक १ सय विकेट लिने बलर

स्पिनर सन्दीप लामिछाने ओडीआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने खेलाडी हुन् । सन्दीपले २०२३ अप्रिलमा कीर्तिपुर मैदानमा ओमानविरुद्ध उक्त सफलता हात पारेका थिए ।

अफगानिस्तानका स्पिनर राशिद खानको ४४ खेलमा १ सय विकेटको कीर्तिमान उनले तोडेका थिए ।

६. सन्दीपको संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू

सन्दीप देश नभएर संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू गर्ने पहिलो खेलाडी पनि हुन् । उनले सन् २०१८ मे ३१ मा आईसीसी विश्व ११ बाट वेष्टइण्डिजविरुद्ध टी–२० आईमा डेब्यू गरेका थिए । वेष्टइण्डिजमा आँधीको कारण क्रिकेट रंगशालामा क्षति पुगेपछि पुनः निर्माण गर्न आईसीसीले विभिन्न देशबाट विश्व ११ को टिम निर्माण गरेको थियो । त्यो समय नेपालको टी–२० आई मान्यता गुमेको हुँदा विश्व ११ बाट सन्दीपले डेब्यू गरेका थिए ।

७. सीमित ओभरमा महबुब आलमको १०विकेट

पूर्व तीव्र गतिका बलर महबुब आलम सीमित ओभरको क्रिकेटमा एकै खेलमा सबै १० विकेट लिने पहिलो खेलाडी हुन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १०विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए ।

८. नेपाल २ बलमै विजयी

पत्याउन मुश्किल पर्ला, तर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २ बलमै जित हात पारेको कीर्तिमान बनाएको छ । नेपालले सन् २००६ को एसीसी ट्रफी अन्तर्गत म्यानमारविरुद्ध मात्रै २ बलमा जित निकालेको थियो । महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएपछि पहिला ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।

११ रनको लक्ष्य नेपालले २ बलमै पूरा गरेको थियो । उक्त खेलमा ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले १–१ बलमा समान ३–३ रन रन बनाउँदा पाँच रन वाइड मार्फत पाएको थियो ।

महिला क्रिकेटमा रवान्डाले २०१९ मा टी–२० आईमा मालीले दिएको ७ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो ।

९. ओडीआईमा विपक्षीलाई ३५ रनमा अल आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले २०२० मा काठमाडौंको त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । उक्त खेलमा सन्दीपले ६ र सुशान भारीले ४ विकेट लिएका थिए ।

ओडीआईमा ३५ रनमा अल आउट संयुक्तरुपमा कम योगफल हो । श्रीलंकाले २००४ मा जिम्बावेलाई पनि ३५ रनमै अल आउट गरेको थियो ।

१०. कम बलमा अल आउट

नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्दा मात्रै ७२ बल गरेको थियो । ओडीआईमा विपक्षी टोलीलाई कम बलमा अल आउट गर्ने कीर्तिमान बनाएको हो ।

नेपालअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।

११. कुशल ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

कुशल मल्ल ओडीआईमा कम उमेरमा अर्शतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०२० फेब्रुअरी ८ मा अमेरिकाविरुद्ध त्रिवि मैदानमा १५ वर्ष ३४० दिनमा अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

उनले सन् २०१९ मा रोहित पौडेलले यूएईविरुद्ध १६ वर्ष १४६ दिनमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका थिए ।

१२. रुविनाको ५ बलमा ५ विकेट

पूर्व कप्तान रुविना क्षेत्री महिला क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । सन् २००९ मा मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिप ८० रनको लक्ष्य पछ्याएको सिंगापुरविरुद्ध रुविनाले अन्तिम ओभरको दोस्रो, तेस्रो, चौथो, पाँचौं र अन्तिम बलमा लगातार विकेट लिँदै उक्त कीर्तिमान बनाएकी थिइन् ।

१३. कुशल भुर्तेलको डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक

ओपनर कुशल भुर्तेल टी–२० आईमा डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

उनले २०२१ मा घरेलु मैदान टीयुमा नेदरल्यान्ड्ससँग ६२, मलेसियासँग ६१ र नेदरल्यान्ड्ससँग ६२ रन बनाउँदै उक्त कीर्तिमान बनाएका थिए ।

उनी अघि इंग्ल्यान्डका डेविड मलानको सुरुवाती दुई खेलमा दुई अर्धशतक हानेका थिए ।

१४. कुशल मल्लको १३७ रन

मंगोलियाविरुद्ध कुशल मल्लले तेस्रो नम्बरमा ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । तेस्रो नम्बरमा टी–२० आईमा उच्च इनिङ हो ।

उनले २०१२ मा न्युजिल्यान्डका ब्याटर ब्रेन्डन म्याकुलमले बंगलादेशविरुद्ध तेस्रो नम्बरमा बनाएको १२३ रनको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै पाकिस्तानका बाबर आजमले २०१६ मा ओमानविरुद्ध तेस्रो नम्बरमा नै १२२ रन बनाएका थिए ।

१५. कुशल मल्ल र रोहितको १९३ रनको साझेदारी

मंगोलियाविरुद्ध कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए । टी–२० आईमा तेस्रो नम्बरमा बनेको उच्च साझेदारी हो ।

त्यसअघि न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेष्टइण्डिजविरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए ।

१६. टी–२० आईमा एकै इनिङमा सर्वाधिक छक्का

नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुल २६ छक्का हानेको थियो । टी–२० आईमा एकै इनिङमा हानेको सर्वाधिक छक्का हो ।

नेपालपछि जापानले २०२४ फेब्रुअरीमा चीनविरुद्ध २३, अफगानिस्तानले आयरल्यान्डविरुद्ध तथा वेष्टइण्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का हानेका थिए ।

नेपालबाट उक्त खेलमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ हानेका थिए ।

१७. पारस टी–२० आईमा लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान

टी–२० आई इतिहासमा लक्ष्य पछ्उदा शतक हान्ने पारस खड्का पहिलो कप्तान हुन् । उनले २०१९ को त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ७ चौका र ९ छक्कासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए ।

उनी अघि लक्ष्य पछ्याउँदा टी–२० आईमा कप्तानको रुपमा नेदरल्यान्ड्सका पिटर सिलारले २०१९ मा स्कटल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए ।

१८. शक्तिको ८ मेडन

पूर्व स्पिनर शक्ति गौचनले सन् २०१२ मा डिभिजन फोरमा मलेसियाविरुद्ध १० ओभरमा ८ मेडनसहित २ रन खर्चेर ३ विकेट लिएका थिए । ५० ओभरको खेलमा ८ मेडन संयुक्त रुपमा सर्वाधिक हो ।

शक्तिपछि वेष्टइण्डिजका फिल सिमन्सले १९९२ मा पाकिस्तानविरुद्ध ओडीआई खेलमा १० ओभरमा ८ मेडनसहित ३ रन खर्चेर ४ विकेट लिएका थिए ।

१९. रोहित टी–२० विश्वकपका कान्छा कप्तान

आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलले पहिलो खेलमा नेतृत्व गर्दा २१ वर्ष २७६ दिनका थिए । रोहित टी–२० विश्वकपमा सबैभन्दा कम उमेरमा नेतृत्व गर्ने कप्तान हुन् ।

उनीअघि जिम्बावेका प्रोस्पेर उत्सेयाले सन् २००७सालको विश्वकपमा २२ वर्ष १७० दिनमा कप्तानी गरेका थिए ।

२०. लगातार ३३ खेलमा सन्दीपको विकेट यात्रा

स्पिनर सन्दीप लामिछाने ओडीआईमा लगातार ३३ खेलमा विकेट लिने खेलाडी हुन् । सन् २०२० फेब्रुअरीदेखि २०२३ मेसम्म विकेट लिँदै लगातार सर्वाधिक ३३ खेलमा विकेट लिने बलर बनेका थिए ।

उनीअघि अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले २६, वेष्टइण्डिजका इयान विशोप २५ र अफगानिस्तानका हामिद हसनले २४ खेलसम्म लगातार विकेट लिन सफल भएका थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल