बङ्गलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

झापा, ६ साउनः बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

“पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भन्नुभयो, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उहाँले जानकारी दिनुभयो । बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो । आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताउनुभयो । इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । “कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो”, उहाँले भन्नुभयो, “कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।” आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उहाँले जानकारी दिनुभयो । केही विद्यार्थी भुटानबाट समेत आएका थिए । रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताउनुभयो । काठमाडौँ निवासी उहाँले भन्नुभयो, “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।” उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए । सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उहाँको भनाइ थियो उहाँले भन्नुभयो, “आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।” बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताउनुभयो । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् । पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् । काठमाडौँ र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि