काठमाडौँ, २३ कार्तिक । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपमयात्रा’ विमोचन गरिएको छ ।

राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एक साथ विमोचन गरिएको हो । प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बास्कोटा, बिशिष्ठ अतिथीहरू संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथि बास्कोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीत सृजनामार्फत स्रोताहरूको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उनको प्रसंसा गरेका छन् । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिँदै बास्कोटाले उनका सृजनाले नेपालीसंगीतलाई निरन्तर रुपमा सिञ्चित गरिरहेको बताए । यस्तै संगीतउद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्ट बनाउन सक्ने क्षमता रहेको बताएकाछन् । पहिलेदेखि नै आफुले सुन्दै आएका उनका सृजनामा उत्कृष्टता भेटिने बताउँदै उनले यसपटक पनि थापाले आफूलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावका गीतमा उत्कृष्ट शब्द रचना गर्न सफल भएको बताए ।

यस्तै संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले आफू व्यक्तिगत रुपमा पनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । विभिन्न विधाका गीतमा उनले उत्तिकै शशक्त रुपमा संगीत सृजना गर्ने गरेको उनको भनाइ छ । उनले गीतकार गुरुङले विदेशी भूमिमा रहेर पनि नेपाली संगीतप्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वित भएको बताए । यस्तै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले विसम परिस्थितिमा पनि निरन्तर रुपमा संगीतमा लगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको जनाएका छन् । उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुन लगाएको बताए । एउटा गीतकारको भावलाई संगीतकारले जीवन दिने भन्दै उनले शब्दमा प्राण भर्न संगीतकार थापा जहिले सफल रहने गरेको जनाए ।

कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरूको बारेमा प्रष्ट पारेका थिए । उनले अतिथिहरूले आफ्ना सृजना प्रतिदिएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए । उनले निरन्तर रुपमा आफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङप्रति आभार प्रकट गरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफूले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफूहरूको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाइ छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकोले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन् ।

सार्वजनिक एल्बमहरू मध्ये ‘भाव’मायो मनले भन्छ, आँखा खोल्दा, सँगसँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउनखोज गरि १० वटा गीतहरू समावेश छन् । यस्तै ‘अनुपमयात्रा’ मा देखिन तिमीजस्तो कोही, सदियौंदेखि, तिमी सँगै, भुल्न सकिन, कारणतिमी, तिमीटाढा, गुराँसैको फूलफुल्दा, बुझाउँ कसरी र कारणतिमी (फिमेल भर्सन) गरि ९ वटागीतहरू समावेश छन् । सार्वजनिक दुवै एल्वमहरुलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।

दुई एल्बमका गरि पाँचवटा म्युजिक भिडियोहरू सार्वजनिक गरिएको समारोहमा वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठलगायत एल्बमका गीतमा स्वर दिएका गायक गायिका तथा मोडलहरूको उपस्थिति रहेको थियो ।