मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।

“पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए ।

“उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उनले भने, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुगमन गर्नुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रूपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 42 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 88 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 62 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 95 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 83 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 139 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-