‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्

कञ्चनपुर, ८ साउनः वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आउनुभएको छ । असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आउनुभएको हो । खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन् । आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन । विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ । यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ ।

पशुपति आधारभूत विद्यालयमा बस्दै आउनुभएका रामसिंह नायकले बाढीको पानीले घरसहित सबै समान बगाएर लगेपछि विचल्लीमा परेको बताउनुभयो । “शरीरमा लगाएको एकसरो लुगामात्रै बाँकी छ । अरू सबै बाढीले लग्यो”, उहाँले भन्नुभयो, “राहतका रूपमा उपलब्ध गराइएको खाद्यान्न सबै सकिने अवस्थामा छ, थप राहत पाइएको छैन ।”

बाढीपीडित वसन्ती कुँवरले बाढीका कारण लालाबालासहित असार २३ गते राति घरछोडेकामा पुनः फर्किने अवस्था नरहेको पीडा सुनाउनुभयो । “रातिका बेला पानी परिरहेको थियो, अचानक खोलाको बहाव बढ्न थाल्यो, हेर्दाहेर्दै घरभित्रै पानी पस्यो, हतारमा बालबालिका बोकेर राति १० बजे घर छाडेर भाग्यौँ”, उहाँले दुःखेसो पोख्नुभययो, “घरभित्रको अन्न, लुगाफाटो, खाना बनाउने ग्यास सिलिन्डर, खाद्यान्न केही झिक्न पाएनौँ, सबै बाढीले बगाएर लग्यो ।”

स्थानीय मञ्जु पार्कीले बर्सौदेखि बस्दै आएको स्थानमा यति ठूलो वर्षा र बाढी यसअघि कहिल्यै नदेखेको बताउनुभयो । बाढी बस्तीमा पसेपछि धेरैको बिचल्ली भएको उहाँको भनाइ छ ।

बाढीपीडित स्थानीय भुवन दमाईंले त्यो रात सम्झिदा अहिले पनि आकासमा बादल देख्दासमेत त्रसित हुने अवस्था रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो,“त्यो रातिको वर्षा र बाढीको डरले सताउन छाडेको छैन, आकासमा बादल लागे अझै डराउनुपर्ने अवस्था छ । त्योभन्दा बढी चिन्ता अब फेरि कसरी घर जाने र के खाने भनेर लाग्छ किनकि घर बगाएको छ, अन्नपात सबै बाढीले बगाएको छ ।”

घरको अन्न मात्रै होइन खेतमा रोपेको धानसमेत बालुवा पुरिएको छ । खेत बगरमा परिणत भएको छ । विद्यालयको छुट्टीका कारण यहाँ आश्रय लिइरहे पनि केही दिनपछि पुनः पढाई सुरू भएपछि थप समस्या हुने पीर बाढीपीडितलाई छ । स्थानीय सुरमा चन्द यही पीरले प्रभावित परिवारलाई आवश्यक राहत र सुरक्षित बासको प्रबन्ध मिलाइ दिन स्थानीय सरकारसँग आग्रह गर्नुहुन्छ ।

वडाध्यक्ष थानेश्वर भट्टकानुसार असार २३ गते रातिको विनाशकारी बाढीबाट प्रभावित ७९ परिवारमध्ये २२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्, आठ परिवारको घरजग्गा केही पनि बाँकी छैन । यी परिवारको व्यवस्थापनका लागि छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । “पूर्ण रूपमा विस्थापित भएका परिवारलाई पुनःस्थापना गराउन नगरप्रमुखलगायत सरोकार भएकाहरूको ध्यानाकर्षण गराएको छु । अब बस्ने नगरपालिकाको कार्यपालिका बैठकमा पनि यो कुरा उठाउँछु”, उहाँले भन्नुभयो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार असार २३ र २४ गतेको २४ घण्टामा शान्तिपुरसँगै जोडिएको सुन्दरपुरलगायत क्षेत्रमा ‘रेकर्ड ब्रेक’ (अति भारी) वर्षा भएको थियो । त्यस क्षेत्रमा पाँच सय ५६ दशमलव चार मिलिलिटर वर्षा मापन गरिएको थियो । सोही वर्षाका कारण पूर्वपश्चिम राजमार्गको सुँडाखण्डमा रहेको कल्र्भट बगेको थियो । हाल बगेको कल्भर्टको छेउमा डाइभर्सन निर्माणगरी अस्थायी रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल