विपद् व्यवस्थापनमा अन्तरपालिका अनुभव आदानप्रदान

टीकापुर (कैलाली), १८ असारः विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिकाबीच असल अभ्यास आदानप्रदान भएका छन् । कैलालीको टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाका विपद् शाखा संयोजक लगायतका प्रतिनिधि सहभागी थिए । टीकापुर नगरप्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले गरेका असल अभ्यास, एकअर्काका सिकाइ आदानप्रदान गरिएको थियो ।

अन्तरपालिकाबीच भएको छलफलमा विपद्का समयमा कैलाली र बर्दियाका पालिकाबीच समन्वय गर्ने कुरामा छलफल भएको थियो । यसअघि आगलागीजस्ता घटनामा दमकल सहायता कार्यमा सहकार्य गर्दै आएका बर्दियाको राजापुर, गेरुवा, टीकापुर, जानकी, भजनीजस्ता पालिकाले आउँदा दिनमा बाढीजन्य विपद्मा पनि सहकार्य गर्ने बताएका छन् । बाढी आइहालेमा एकअर्का पालिकामा रहेको जनशक्ति, खोज तथा उद्धारका सामग्री सघाउने बताएका छन् ।

बर्दियाको गेरुवा गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति कृष्ण सोडारीले गेरुवाका छवटै वडा कर्णाली र गेरुवा नदीको जोखिममा रहेका बताउनुभयो । सात हजार सात सय ६२ घरपरिवार तथा ३३ हजार जनसङ्ख्या रहेको गेरुवा गाउँपालिकामा सनकट्टी, वनकट्टी, गेरुवा गाउँ, राजीपुर, शान्तिबजारलगायतका क्षेत्रमा डुबानको जोखिम रहेको बताउनुभयो । “विपद् व्यवस्थापन कोषमा ७० लाख रकम छ, त्यही कोषबाट राहत, उद्धार तथा विपद् व्यवस्थापनमा काम गर्छौँ”, उहाँले भन्नुभयो, “पालिकाका सबै वडा विपद्को जोखिममा छन् । यस वर्ष बढी वर्षा हुने भनिएकाले अहिलेदेखि नै पूर्वतयारीमा जुटेका छौँ ।”

जानकी गाउँपालिका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैशी पालिकाले बाढीलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । पालिकाले आगामी वर्षका लागि कुल बजेटको १० प्रतिशत बजेट सुनिश्चित गरेको र विपद् व्यवस्थापन कोषमा रु ५० लाख रकम व्यवस्था गरेको जानकारी दिनुभयो ।

“जानकीमा बाढीको जोखिममा रहेकालाई मौसम पूर्वानुमानसम्बन्धी सूचनाका आधारमा अग्रिम नगद सहायता वितरणका लागि तथ्याङ्क लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बाली बीमामा किसानलाई जोड्ने र स्थानीय पाठ्यक्रममा विपद्का कुरा, विपद् डायरी निर्माणजस्ता कार्य गरेका छौँ ।” पालिकाका अनुसार जानकीमा आठ सय ९३ घरपरिवार बाढीको जोखिममा छन् ।

टीकापुरमा सातवटा संस्थाले विपद्मा काम गरिरहेका छन् । टीकापुरमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको नियमित बैठक बस्ने गरेको छ । टीकापुर नगरपालिका विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले टीकापुरले बाढीको मापनका लागि स्थानीय ‘गेज स्केल’ राखेका, खोज तथा उद्धारमा सहजताका लागि ‘ड्रोन क्यामेरा’ खरिद गरेको बताउनुभयो ।

“यसका साथै सर्पदंशसम्बन्धी रिपोर्टिङ गर्ने, जनचेतना जगाउने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आगलागीका घटना हुँदा आफ्नै लगानीमा अन्य पालिकालाई पनि दमकल सेवा दिइरहेका छौँ ।”

बाढीको पूर्वतयारीका लागि टीकापुर नगरपालिकामा ११ उच्च भवन छन् । दुईवटा सामग्री भण्डारण कन्टेनर, ५० थान त्रिपाल, एक सुरक्षित उच्च अन्न भण्डार, वडा नं ५ मा तीनवटा अन्न बैंक स्थापना, समुदायको अगुवाइमा जैविक तटबन्ध निर्माणजस्ता कार्य भएका छन् ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले पूर्वतयारी गर्न सामग्री र जनशक्ति अभाव हुन नदिनेमा सचेत रहन सुझाव दिनुभयो । विपद्मा एकअर्कालाई दोष दिनुभन्दा मिलेर काम गर्न र पूर्वसूचना संयन्त्रको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यलय टीकापुरमा प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले विपद् रातिको समयमा समेत आउनसक्ने भएकाले हरेक समयमा प्रतिकार्यमा खटिने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले समन्वय बैठकले एकअर्कासँग समन्वय हुने गरेको बताउनुभयो । जानकीले दमकल खरिद गर्ने नीति लिएको बताउँदै अहिलेसम्म टीकापुरको प्रयोग गरिरहेका बताउनुभयो । “केन्द्रले राम्रो अभ्यास गरिरहेका पालिकाको अनुभव ‘सेयरिङ’ गर्ने गरेको छ । म पनि केही कार्यक्रममा सहभागी भएको छु”, उहाँले भन्नुभयो, “राम्रो गर्न कोसिस गरिरहेकालाई आवश्यक उपकरण सहयोग गर्नतिर ध्यान दिएको देखिँदैन । असल अभ्यास गरिहेकालाई बलियो बनाउनतिर ध्यान दिनुपर्छ ।” अध्यक्ष चौधरीले विपद्बाट जोगिन समुदाय नै बलियो हुन आवश्यक रहेको बताउनुभयो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 63 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल