काठमाडौं । हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा जोशीलाई श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ र कयौं नेपालीहरुले यस श्रद्धाञ्जली सभामा भाग लिएका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी रहेको बताइएको छ ।
जोशीको शव भोलि सोमबार नेपाल ल्याउने तयारी छ । उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइदैछ । सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ भने विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको बताएको छ ।








