दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १७ असार । मधेश प्रदेश को एक मात्र महानगर वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमबार बाट सुरु भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम सुरु भएको हो ।
मुख्य सडक विस्तारको विरुद्ध स्थानीयले दायर गरेको मुद्धा सर्वोच्चले गत फागुन २८ गते खारेज गरे सँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगंज महानगरपालिकाले सोमबार बाट सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचना हटाउन सुरु गरेको हो ।
महानगर प्रमुख राजेशमान सिंह स्वयं तीनवटा डोजर सहितको टोली लिएर भन्सार क्षेत्र बाट अभियान सुरु गर्न पुगेका थिए । विस्तार कार्य भन्सारदेखि गण्डक चोक सम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताउनु भयो । यो मार्ग वीरगञ्ज–पथलैया राजमार्ग तथा भारतको कोलकाता बन्दरगाह सँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो ।

रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना र धुलो–धुवाँले नागरिक हैरान भइरहेका थिए ।स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले सडक चौडा भए पछि वीरगञ्जको स्वरूप नै फेरिने बताउँदै अभियान प्रति समर्थन जनाएका छन् ।
यद्यपि सडक क्षेत्रमा भवन संरचना पर्ने केही स्थानीयवासीले भने उचित मुआब्जा नपाएको गुनासो गरेका छन् ।








