ढोरपाटन पुग्ने सडकको दुरावस्था, पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ), ५ साउन : यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।

वर्षा सुरुभएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती हुने गरेको हो । ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ । यस बाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन् । बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । सरकारले दुई वर्ष अगाडि उक्त खण्डको करिब २२ किमी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुनसकेको छैन । निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने आवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताउनुभयो । “यो बेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन् । सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा यहाँ पुग्न सक्दैनन् । बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यसभन्दामाथि यात्रा गर्न निकै कठिन छ”, उहाँले भन्नुभयो । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्नै सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्दछन् । कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने गरेका पुनले बताउनुभयो । हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा सञ्चालन हुन नसक्ने भन्दै वर्खामा अझ बढी सास्ती हुने उहाँको भनाइ छ । ट्र्याक खुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नु परेको पुनले उल्लेख गर्नुभयो । “ढोरपाटन घुम्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन्, बाटोको अवस्थाले कोहीको सवारीसाधन बिग्रिन्छ, अनि बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्”, पुनले भन्नुभयो, “सरोकार भएका निकाय तथा राज्यले ठेकदारलाई समयमा सडक मर्मत गर्न दबाब दिनुपर्ने थियो । आलु, स्याउलगायत यहाँका कृषि उत्पादन बजारसम्म पु¥याउन सहज बाटो नहुँदा ढुवानी खर्च धेरै तिर्नुपर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौँ ।” तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै बागलुङ ढोरपाटन जोड्ने उक्त खण्ड विसं २०७१ मा ट्र्याक खुलेको थियो । बडिगाडको गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्दछ । सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो । सम्झौता मिति सकिँदासम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अञ्जु परियारले जानकारी दिनुभयो । आयोजना कार्यालयले बुर्तिबाबाट फल्लेघरसम्मको सडक स्तरोन्नति गर्न स्वच्छन्द÷ओमबुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी रु २५ करोडको सम्झौता भएको थियो । सडक स्तरोन्नति समयमै सक्न निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्याद सकिएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै उक्त समयमा नसके सम्झौता रद्द गर्ने तयारी गरिएको प्रमुख परियारले बताउनुभयो । “निर्माण कम्पनीले सुरुको चरणमा तीव्र गतिमा काम गरेको थियो, पछिपछि काम गरेन, कार्यालयले नियम अनुसार पत्र लेखी ताकेता गरिरहेको छ”, उहाँले भन्नुभयो, “पुससम्म म्याद थप गरेको छ, सो अवधिसम्म काम नसके ठेक्का तोडिन्छ । बजेट अभावका कारण निर्माण कम्पनीले काम गरेको रु एक करोड झुक्तानी गर्न सकिरहेका छैनौँ ।” ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) ले सडक समयमा नबन्दा यहाँका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताउनुभयो । निर्माण कम्पनीलाई समयमा काम सक्न पालिकाले सघाउँदा पनि काम नगरेको उहाँले गुनासो पोख्नुभयो ।

सङ्घीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै बाढीपहिरोका कारण समयसमयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आइएको कायतले जानकारी दिनुभयो । सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने गरेका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 110 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 43 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल