‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो रु तीन सय ५० मा पाइने मासु यतिखेर रु पाँच सय पर्न थालेको छ ।

“दुई वर्षअघि रु दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु पाँच सयमा बिक्री भइरहेको छ”, मासु विक्रेता राजकिरण चौधरीले भन्नुभयो, “कैलालीमा बङ्गुर नपाएपछि दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ ।”

जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको चौधरीले बताउनुभयो । “पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गथ्र्याैँ, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन ।”

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गर्नुभएको छैन । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र रु ९५ लाख २० हजार बराबरको क्षति भएको हो । “बङ्गुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो”, उहाँले भन्नुभयो, “रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बङ्गुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने रोग लागेको रहेछ ।” हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताउनुभयो । उहाँले साना व्यवसायीले समेत बङ्गुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताउनुभयो । फस्टाएको व्यवसाय धरासायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गर्नुभयो ।

व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले रु दुई लाख ७५ हजार बराबरका बङ्गुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । अर्का व्यवसायी जानकी–१ दुर्गाैलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गर्नुभएको छैन । रु ३५ लाख खर्च गरेर बङ्गुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आउनुभएको थियो । उहाँ पनि स्वाइन फिभरको मारमा परेको बताउनुभयो । चौधरीकोे ७० वटा बङ्गुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको बताउनुभयो ।

“स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बङ्गुर मरे”, चौधरीले भन्नुभयो, “ऋण लिएर बङ्गुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बङ्गुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन”, व्यवसायी चौधरीले जग्गा खरिद, बङ्गुर खोर र माछापालन गरी रु दुई करोड लगानी गरेको बताउनुहुन्छ ।

“रोगले बङ्गुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ”, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भन्नुभयो, “किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।”

आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको पनि भारतीले बताउनुभयो । कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ । कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो । अहिले बङ्गुरको निर्यात राकिएको व्यवसायीको भनाइ छ । सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ । हाल बङ्गुरको मासु अभाव भएकाले उहाँले कञ्चनपुर, बर्दियालगायत छिमेकी जिल्लाबाट बङ्गुर ल्याएर मासु काठमाडौँ पठाउने गर्नुभएको छ । बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसरी बङ्गुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
–––

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल