संकटमा कालीगण्डकीको जलसभ्यता

१९ भदौ, म्याग्दी । सडक, ढल, जथाभावी गरिएको उत्खनन् र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगंगा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता संकटमा पर्न थालेको हो ।

पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गंगाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप संकटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाऔं अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताए।

बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुंगा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गरे । डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उनको भनाइ छ ।

बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताए ।

सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी बताउँछन् । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उनको भनाइ छ ।

नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताए । उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ ।

कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि ०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो ।

‘विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ’, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने ।

कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पुर्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताए । ‘कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन’, उनले भने ।

कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा छ ।

‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र

बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम

काली गङ्गा भनन कसरी कुँद्छ्यौ शालिग्राम ?’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेखेको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुली बताउँछन् ।

शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसंकट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको माग छ।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 30 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 27 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 27 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 25 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 26 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 24 views
    अमेरिकाले छोड्यो सिरिया