एउटा नाउरको सिकार गर्न २३ लाख रुपैयाँ!

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेशेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ।

यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ।

बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाख रुपैयाँसम्म कबोल गरिएको उनले जानकारी दिए।

झारलको शिकारका लागि हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ। आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन।

सिकार गर्नका लागि शिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ। सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन्। सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ। हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ। सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन्। सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ।’

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरीशिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन(अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका छन्।

नाउर एक हजार २९० र झारलको सङ्ख्या ७४४

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ। सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ। गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ। यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको छ।

आरक्षमा दुई सिजनमा सिकार खेलाइन्छ। पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत वैशाखसम्म हुन्छ। यहाँ बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ। करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आँकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ।

निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरेको बताए। ‘यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन। साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन’, उनले भने।

२०४४ सामा स्थापना भएको यो आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ। रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ। यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यो क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल