काम र मामले दशैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु । दशैँका घमाइला दिन, जताततै रमाइलो । दशैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति ।

सोलुखुम्बु सोताङका नवीन राईलाई भने यसको प्रवाह छैन । उनी फूलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फूलपातीका दिन सबै जना घर फर्किँदा उनी भने घर छोडेर भारीको खोजीमा उकालो चढेका छन् ।

‘हामीलाई के दशैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको’, लामो सुस्केरा हाल्दै राईले भने,’काम नगरी हुँदैन । घरमा आमा बुवा, भाइबहिनी पाल्नै पर्‍यो, यति बेला दशैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दशैँ मनाउने हो ।’

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन् । अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दशैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन् । उनीहरूले भारी बोकेर दैनिक दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताए ।

सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुगेका छन् । अन्य समयमा कलेज जानुपर्ने भएकाले दशैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताए । उनी भन्छन्, ‘पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु ।’ दशैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दशैँ नै बिर्साउने गरेको छ ।

भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदीप मगरले भने,’हामीलाई दशैँको कुनै वास्ता छैन । यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन । हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसैगरी यहाँ आउने गरेको छु । दशैँ नमनाएको पनि पाँच वर्ष नै भयो । विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ । कसरी दशैँ मनाउनु त १’

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरू पनि दशैँ, तिहार जस्ता चाडपर्वलाई छोडेर ट्रेकिङमा जाने गरेका छन् । खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ ।

त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवागमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउँछन् ।

‘वर्ष दिनमा मनाइने दशैँ जस्ता महत्त्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन । त्यसैले साथीसँग मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ’, उनले भने ।

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन् । भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन् । खुम्बुमा वर्षको दुई पटक पर्यटक याम हुन्छ । पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मंसिर । त्यसैले यस पटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ ।

सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए ।

‘यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दशैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घर खर्चदेखि सबै गुजरा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ’, उनी सुनाउँछन् ।

करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको बताए । ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिँड्नुपरेको उनको भनाइ छ ।

हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाइ उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाई मार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।

पर्यटकको चाप बढेसँगै खुम्बुका होटेल तथा लजहरू भरिभराउ भएका छन् । जस कारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटेल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

‘अन्य समयमा खाली हुने होटेलहरू यति बेला खचाखट भरिएका छन् । बास पाउन मुस्किल छ’, उनले भने । पर्यटकको आवागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्लास्थित गाउँपालिकाको जाँच केन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन् ।

निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दशैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताए ।

उनले भने, ‘थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नैपर्छ । यसैमा रमाइरहेका छौँ ।’

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 87 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 118 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 103 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-