पहिरोले फिदिम बजार आसपासका क्षेत्र जोखिमपूर्ण

पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिरोका कारण जोखिममा परेका हुन् ।

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् ।

बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केहीतलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो झरेर थुप्रिएको छ ।

सानाठूला ढुङ्गा घर अगाडि थुप्रिएका छन् । वर्षा कम भएकाले स्थानीयवासी घरमा फर्किन थालेका बताउँदै स्थानीय चन्द्रप्रसाद सारु मगरले वर्षा भइन्जेल विस्थापित भएको बताए । जिल्लास्थित नेपाल पत्रकार महासङ्घको शाखाको भवन पनि पहिरोको जोखिममा परेको उनले जानकारी दिए ।

लच्किएको सबै जमिनका कारण स्थानीयमा त्रास थपिएको चन्द्रप्रसादले बताए । यहाँ १७ परिवारको बसोबास रहेकामा नौ परिवार पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । “सबैले आएर हेरेर जानुभएको छ । अस्थायी रूपले बाटो खोले पनि पहिरो पन्छाइएको छैन”, उनले भने, “यसपालि मानवीय क्षति नभए पनि यहाँ बस्न डर लाग्छ । पहिरो झरेभन्दा माथि फिदिम बजारलाई धान्ने खानेपानीको ट्याङ्की छ । भवितव्यमा अस्तिजस्तै पानी पर्‍यो र ट्याङ्की फुट्यो भने यहाँदेखि साभ्राङसम्म बगाएर लैजान्छ ।”

फिदिम नगरपालिका–२ रमितेमा पाँच वर्षअघि रमिते भ्यू–टावर निर्माण भएको थियो । भ्यू–टावर नजिकै सवारी पार्किङस्थल पनि बन्यो । अविरल वर्षापछि यहाँ धेरै क्षेत्रको पानीको भल भेला भयो । मेची राजमार्ग नजिकै रहेको पार्किङ क्षेत्रभन्दा तीन गोलाइ तल सडक छेउको घरमा पहिरो झरेपछि स्थानीयवासी भेला भएर घरमा रहेका मालसामान निकाल्दै थिए ।

उक्त पहिरोले मेची राजमार्ग एक सातासम्म अवरुद्ध भएको थियो । “ठूलो पहिरो झरेपछि परिवारले यहाँ नबसौँ भन्न थाले । अर्कोतिर अर्खौले(नजिकैको अर्को गाउँ)मा पनि पहिरो गएर एक जनाको ज्यान गयो”, रमितेका स्थानीयसमेत रहेका फिदिम–२ का वडा सदस्य राजु राईले भने, “यहाँ सुरु भएको पहिरो बढेर गयो भने यहाँभन्दा मुनि सदरमुकामको क्षेत्रलाई समेत असर पार्छ ।”

फिदिम बजारको चौतारेडाँडा, गैरीबारी तथा साभ्राङ आसपासमा पनि सानोठूलो पहिरो झरेको छ । चौतारेडाँडाका पदमध्वज सुहाङको पक्की घरसम्म पहिरो आइपुगेको छ । “घर चर्किएको छ । भान्साघरलगायत संरचनामा क्षति भएको छ”, स्थानीय सुहाङले भने, “वर्षा हुँदा यहाँ बस्न जोखिम हुन्छ ।”

पहिरोले चौतारेडाँडाकै सीताराम शङ्करको सुँगुरको खोर, गाईगोठ र बारी बगाएको छ । घरको दुई फिट नजिक पहिरो आइपुगेको छ भने घर लच्किएको छ । शङ्कर आजभोलि पहिरोले बगाएको सुँगुरको खोर र गाई गोठका टिन, काठलगायत सामग्री करिब दुई सय ५० मिटर तलबाट निकाल्दै छन्।

“भिरालो ठाउँ भएकाले पहिले सानोसानो पहिरो झरे पनि यस्तो क्षति भएको थिएन । अहिले घरको माया मार्नुपर्ने भयो”, शङ्करले भने, “अस्ति वर्षा हुँदादेखि घर छोडेर गयौँ । बजार नजिकै भए पनि पहिरो गएपछि पूर्ण रूपमा विस्थापित भएका छौँ ।” हालसम्म कुनै पनि राहत नपाएको उनको गुनासो छ ।

फिदिम–१ गैरीबारीकी मनु राईले पुनः वर्षा भए घरमा बस्न नसकिने बताए । उनको घरसँगैको कच्ची घर पहिराले पूर्ण रूपमा भत्कायो । राईको घरमाथि चौतारेडाँडामा पहिरो झरेको छ । पहिराले उनको घरमाथिका चार घर पूर्ण रूपले विस्थापित भएका छन् । राईको एकतले पक्की घरमा बाढी पस्यो भने दुईतर्फबाट पहिरो झर्‍यो । “पहिरो झरेपछि माथिल्लो गाउँ छोरीको घरमा गएर पाँच दिन बस्यौँ”, राईले भने, “पहिरो झर्दा घरमै थियौँ । बस्नै नसकेपछि भाग्यौँ ।”

फालेलुङ गाउँपालिका–५ प्राङ्बुङ पुर्ख्यौली भएका राईले गैरीबारीमा जग्गा खरिद गरी घर निर्माण गरेको बताउँदै अहिले पहिराले त्रास सृजना गरेको उल्लेख गरे । “सबै सम्पत्ति यहाँ खन्यायौँ । अहिले जोखिम बढेको छ । माथि भिरालो जमिन छ । आउँदो बर्खामा सुरक्षित रहन्छौँ र बाँच्छौँ भन्ने आशा छैन”, उनले भने ।

अविरल वर्षापछिको बाढीका कारण फस्के जमिन रहेको फिदिम आसपासका धेरै क्षेत्र जोखिममा परेको फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताए। “यस वर्ष जनधनको क्षति भयो । पाँच जनाको ज्यान गयो”, उनले भने, “१५ घर बस्नै नसक्ने गरी विस्थापित भएका छन् । तीन सयभन्दा बढी घर तथा संरचनामा क्षति भएको छ ।”

फिदिम बजार आसपासको क्षेत्रका माटो कमजोर रहेको र जुनसुकै विपद्मा पनि जोखिम हुने गरेको वडाध्यक्ष भट्टराईले बताए । “विसं २०४५ को भूकम्पदेखियता प्रत्यक्ष देखिरहेको छु, यहाँको जमिनमुनि फस्के ढुङ्गा र माथि माटो छ । माटो भिजिसकेपछि बगेर जान्छ”, उन भने ।

फिदिममा जिल्ला प्रहरी कार्यालयदेखि गैरीबारी, शिवालय मन्दिर, माथिल्लो गाउँ, ट्राफिक कार्यालय र ओदिनसम्म यस प्रकारको माटो रहेको र वर्षात् तथा भूकम्पमा घर भत्किने, चर्किने गरेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । बजार क्षेत्रका धेरै संरचना जोखिमपूर्ण भएपछि भविष्यमा सुरक्षित बसोबासका लागि पहिरो रोकथामका पूर्वाधार निर्माण तथा सुरक्षित स्थानमा आवास निर्माणमा सबै पक्षले जोड दिनुपर्ने उनले उल्लेख गरे ।

सदरमुकामका अधिकांश संरचना रहेको वडा नं १ मा अहिलेसम्म पनि क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । “हामी सुरुमा बाटो खुलाउन लागिपर्नाले क्षतिको विवरण सङ्कलनमा ढिलाइ भयो”, उनले भने, “अहिले क्षतिको विवरण यकिन गर्नेसँगै राहत वितरणको प्रक्रिया पनि अघि बढाइरहेका छौँ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 83 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 74 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 85 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 102 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-