सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित

पाँचथर । बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका-१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्‍याउने बाटो पनि छैन ।

यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्‍याउन कठिन भएको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए ।

जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोले बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो ।

“खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ”, वडाध्यक्ष खालिङले भने, “यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ”, गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि बोकेर समरजुङ हुँदै च्याङथापू पुर्‍याउनु परेको उनले बताए । यी क्षेत्रबाट मेवा खोलालाई पाँच स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ ।

खोला तर्नुपर्ने पाँचमध्ये तीन स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ । गाउँले मिलेर पैदलमार्ग बनाए पनि स्टेचर बोकेर हिँड्न मिल्ने ठाउँ छैन । “हामी ठूलो समस्यामा छौँ । डेढ वर्ष भयो यस्तो बेहाल भोगेको । बाढी आयो कि फड्के बगाइहाल्छ”, बाढीपहिरो प्रभावित क्षेत्र मङ्गरडाँडाका स्थानीयवासी वडाध्यक्ष खालिङले भने, “गाउँलेहरू मसँग गुनासो गर्छ । हामी एक्लैले समस्या समाधान गर्न सकेनौँ ।”

आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उनले बताए। “यो सडक पुनर्निर्माण गर्न थोरै पैसाले पुग्दैन । प्रदेश र संघीय सरकारले हाम्रा समस्या बुझेका छैनन्”, वडाध्यक्ष खालिङले भने । गोरेटो बाटो नहुँदा यहाँका स्थानीयले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेरै घर पुर्‍याउने गरेका छन् ।

अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन् । बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय स्थानीय बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका भने कोही झापा नै पुगे”, वडाध्यक्ष खालिङले भने, “साना नानी हुने धेरै जनाले अहिले गाउँ छाडिसकेका छन् ।”

दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ । “सानो नानी जोगाउन नै कठिन हुने । जताततै पहिरो थियो”, अशोककी श्रीमती धनकुमारी राईले भनिन्, “नानी पढाउनकै लागि च्याङथापूमा बसेर सानो व्यवसाय थालेका छौँ ।”

बाढीपहिरो प्रभावित बस्तीसहित लामपोखरीलाई जोड्ने उद्देश्यले समरजुङबाट मङ्गरडाँडासम्म विस्तार भएको कृषि सडकलाई गाउँपालिकाले मास्लोगाउँमा रहेको पुरानो ट्रयाकमा जोडेको थियो । नयाँ ट्रयाक निर्माण भएपछि ट्रयाक्टरमा खाद्यान्नलगायत सामग्री गाउँसम्म पुर्‍याइएको थियो । लामपोखरीस्थित सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)मा समेत नयाँ ट्रयाकबाट खाद्यान्न पुर्‍याइएको थियो । तर गत साउन र असोजमा खसेको पहिरोले उक्त ट्रयाक पनि क्षतिग्रस्त बनाएको छ ।

“यही नयाँ ट्रयाकलाई वैकल्पिक सडक बनाउने हाम्रो योजना छ”, वडाध्यक्ष खालिङले भने, “सडक मर्मत गर्न प्राविधिकले निरीक्षण पनि गरिसकेका छन् । गाउँपालिका र प्रदेश सरकारलाई बजेट मागेका छौँ । याङवरक-१ च्याङथापूका १० बस्तीका तीन सय घरपरिवार डेढ वर्षदेखि बाढीपहिराको चपेटामा परे पनि सरकारी निकायको यहाँ उपस्थिति छैन ।” खोलाघारीका राजेश राईले भने, “हामी बर्खा लाग्यो कि त्रासमा बाँच्नुपर्छ । गाउँपालिकाले सामान्य सहयोग गरे पनि अन्य सरकारी निकायले हामीलाई हेरेका छैनन् ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 81 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 114 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल