प्रयागराज महाकुम्भमेला

प्रयागराज (भारत), १० माघ : गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दू धर्माबलम्बीहरुको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भुत आनन्द लिन सबैमा आह्वान गर्नुभयो । उहाँले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । मेलाको रौनक मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । मेलाको आकर्षणका रुपमा इलाहवाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । तीन नदीको सङ्गमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ । मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । पाँच सय ५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ । यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शय्याको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ । दश करोड बढीले स्नान गरे महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको आज १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ । पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ । कुम्भमेला हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् । के हो महाकुम्भमेला यो मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थमा कुम्भमेलाको वर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो व्यक्ति कुम्भमा स्नान गर्दछ त्यो सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । भारतका चार कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । कुम्भमेला भारतको तीन ठाउँमा लाग्ने गरेको थियो । तर २०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ । ‘डिजिटल’ महाकुम्भ भारतको संस्कृति मन्त्रालयका अनुसार महाकुम्भमेलामा विज्ञान प्रविधिको पनि भरपुर उपयोग गरिएको छ । प्रयागराज महाकुम्भमा अध्यात्म र नवप्रवर्तनको असाधारण मिश्रणका रुपमा ‘सेट’ गरिएको छ । आधुनिक प्रविधिलाई अँगालेर उच्च–टेक सुरक्षा उपायहरुदेखि डिजिटल भूमि ‘आवंटन’हरु र ‘इमर्सिभ भर्चुअल’ वास्तविकता अनुभवहरु, महाकुभ्भ २०२५ ले भक्तहरुलाई पूर्वाधार, सुरक्षा र डिजिटल सेवाहरुमा व्यापक तरिकाका साथ महाकुम्भ परम्परा र प्रविधिबीचको मेलमिलापको नमूना बनेको छ । भक्तजनको सुरक्षाका लागि विशेष साइबर सुरक्षा व्यवस्था सुरु गरिएको छ । साइबर सुरक्षा उत्तर प्रदेश सरकारले प्रिन्ट, डिजिटल र सोसल मिडियासहित प्रत्येक प्लेटफर्म प्रयोग गर्ने निर्णय गरेको छ । एआई, फेसबुक, एक्स र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू शोषण गर्ने गिरोहहरूको अनुसन्धान गरिरहेका छन् । व्यापक जनचेतना अभियानका लागि मोबाइल साइबर टोली पनि तैनाथ गरिएको छ । उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले प्रयागराज महाकुम्भले ऐतिहासिक रेकर्ड बनाएको बताउँदै धार्मिक पर्यटन अभिवृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । वनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले १२ वर्षपछि लाग्ने कुम्भमेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गर्नुभयो । आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले महाकुम्भ मेलाले क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताउनुभयो । महाकुम्भमेलामा पहिलो दिन मकर सङ्क्रान्तिका दिन महामण्डलेश्वरले शाही स्नान गर्ने चलन छ । त्यसो त श्रीपञ्चमी, शिवरात्रि र पूर्णिमा पनि शाही स्नान गर्ने प्रचलन छ । उक्त दिन शाही स्नानका कारण केही समय सर्वसाधरण भक्तजनका लागि केही असुविधा हुने समेत आयोजकको भनाइ छ । अन्य दिन भने भक्तजनहरुले सहज रुपमा महाकुम्भ स्नान गर्नेगरी विभिन्न घाटहरु निर्माण गरिएको छभने घाटसम्म पुग्नका लागि मोटरबोट तथा डुङ्गाहरु पर्याप्त मात्रामा उपलब्ध छ । महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ । जसको सुरुआत शङ्कराचार्यले गरेका थिए । जानकारहरुका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरु महाकुम्भ मेला गइरहेका छन् । साथीभाइ, परिवार र समूह बनाएर नेपालीहरु प्रयागराजमा स्नानका लागि गएका हुन् । समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे । यस समयमा राक्षस र देवताहरूबीच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । त्यसबेलादेखि, प्रयागराज, उज्जैन, नासिक, हरिद्वारमा १२–१२ बर्षको अन्तरालमा कुम्भमेला आयोजना गरिएको पाइन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल