दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १८ असार । नेशनल मेडिकल कलेज, बिरगंजमा ३० वर्षीय पुरुष बिरामीको बायाँ हिपमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण (Total hip joint replacement surgery) शल्यक्रिया हिप, पेल्भी-एसेटाबुलम पुनर्निर्माण तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रबिन्स कुमार साहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरिएको हो ।
बिहार राज्य भारतको बिरामी मंज्य कुमारको विगत १८–१९ वर्ष देखि बायाँ हिपको अत्याधिक दुखाईले जीवन कष्टकर बनेको थियो । शल्यक्रियापछि बिरामी सफलतापूर्वक डिस्चार्ज भएका छन् र सक्रिय रूपमा हिँडडुल गर्न थालेका छन् ।डा. साहलाई शल्यक्रिया टोलीमा सर्जन डा. प्रशान्त र डा. गौरव, संगै रेसिडेन्ट डाक्टरहरू डा. सुनिल, डा. मुन्ना र डा. अशोकले साथ दिएका थिए । एनेस्थेसियोलोजिस्ट डा. राजेश, सुप्रिया तथा उहाँको टिम र सम्पूर्ण अपरेशन थिएटरका नर्सिङ्ग स्टाफहरु पनि उक्त शल्यक्रिया प्रक्रियामा महत्वपूर्ण योगदान दिएका थिए । अस्पताल म्यानेजमेन्ट तथा नर्सिङ्ग प्रशासकहरुको पूर्ण सहयोग पाएको हुनाले शल्यक्रिया गर्दा आफ्नो मनोबल उच रहेको डाक्टर साहले बताउनु भयो ।

टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण अर्थोपेडिक चिकित्साको अत्याधुनिक प्रविधि मध्ये एक हो, जसमा बिरामीको गतिशीलता र जीवनस्तर पुनःस्थापना गर्न अत्यधिक दक्षता र अनुभव आवश्यक पर्छ । सफल नतिजाले यस संस्थामा उपलब्ध, उच्च स्तरको शल्यक्रिया क्षमता र टिमवर्कलाई पुष्टि गरेको छ ।
बिरामीको समयमा डिस्चार्ज हुनु र सक्रिय हिँडडुल गर्नु शल्यक्रिया पछिको उत्कृष्ट प्रगतिको संकेत हो, जसले शल्यक्रिया टिमको दक्षता र बिरामीको सकारात्मक उपचार प्रतिक्रिया देखाउँछ । यस सफल शल्यक्रियाले अर्थोपेडिक सर्जरीमा बढ्दो प्रविधिगत उन्नति र जटिल उपचारमा आवश्यक समन्वयात्मक कार्यशैलीलाई प्रष्ट पार्दछ ।








