दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सीमा नाकामा अवान्छित क्रियाकलाप गर्ने लाई नियन्त्रणमा लिइ कार्यवाही गर्ने अभियान शुरु गरेको छ । यहाँका मुख्य सिमा नाकाहरूमा सुरक्षा निकायहरू बाट कडा रूपमा चेक जाँच हुदै गरेको विद्यमान अवस्थामा मुख्य नाका भन्दा भित्री सीमा नाकाहरूमा पनि अवैध क्रियाकलापहरू बढेको छ ।
त्यसलाई नियन्त्रण गर्न जनगुनासो तथा सूचनाको आधारमा बुधबार बिहान करिब ११:०० बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०२, जानकीटोला चोक स्थितमा लागु औषध सेवन गर्ने व्यक्तिहरू सिमानाकाको बाटो प्रवेश गरी विभिन्न किसिमका लागु औषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्स लगायत सेवन गरी नेपाल प्रवेश पश्चात हो-हल्ला, झै-झगडा तथा सवारी दुर्घटना, विभिन्न अपराधिक गतिविधिहरूमा संलग्न हुने क्रियाकलापमा संलग्न १६ जना युवाहरुलाई नियन्त्रणमा लिइएको हो ।
यस्ता गतिविधिहरू दिन प्रति दिन बढ्दै गरेको हुँदा विशेष अभियान नै सञ्चालन गरी यस कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय, जानकीटोला बाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १७ बस्ने वर्ष २५ को सुजित पटेल र वर्ष ३० को राहुल यादव रहेका छन् भने वडा नं. १४ बस्ने वर्ष २९ को दिनानाथ पटेल र वर्ष २५ को दिपेन्द्र पासवान, वडा नं. २३ बस्ने वर्ष २७ को श्यामसुन्दर यादव, वर्ष २४ का ऐ.जे.दास, वडा नं.२१ बस्ने वर्ष २५ को फिरोज अन्सारी र वर्ष २३ को देवनारायण राम, वडा न. १३ बस्ने वर्ष २६ को सुमित कुशवाहा रहेका छन् ।
यसै गरी सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० बस्ने वर्ष २८ को दिनेश कुमार श्रेष्ठ, धनुषा जिल्लाको छिरेश्वर नगरपालिका वडा नं. ०१ बस्ने वर्ष ३५ को जितेन्द्र कुमार यादव, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष २७ को नितेश मुखिया, बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न ०२ बस्ने वर्ष २८ को मनुप अछामी र वर्ष २६ को टलक बहादुर के.सी. , पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष २७ रोहन बुढाथोकी, धोबिनी गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष २९ को रिजवान हवारी लाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा प्रहरीहरु संग नै अभद्र व्यवहार गरेको हुँदा निजहरूलाई यस कार्यालयमा ल्याइ सार्वजनिक शान्ति विरुद्ध अन्तर्गतको कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय, पर्सा बाट दश दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।








