तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली (तनहुँ), २८ असार : बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।

कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू गरी जिल्लामा बीउ उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । “चैते–५ को उन्नत बीउ छ हजार केजी खरिद गरी तीन सय केजी उत्पादन सुरु भएको छ । बीउ उत्पादन भएपछि आगामी वर्षदेखि चैते धानको बीउ बाहिरबाट ल्याउनुपर्दैन”, लामिछानेले भन्नुभयो । उहाँका अनुसार चैते–५ धान चाँडो पाक्ने, मसिनो दाना हुने, खानामा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने खालको प्रजाति हो । यो जातको बोट मध्यम उचाइको हुने भएकाले सामान्यतयाः सिँचाइ सुविधा भएको मलिलो जग्गामा यसको खेती गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बीउ प्रयोग गरिएकाले पनि धान उत्पादन घट्दो क्रममा रहेको भन्दै नयाँ जातको धानको बीउ रोप्नुपर्ने केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । “विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ”, केन्द्रका प्रमुख लामिछानेले भन्नुभयो, “तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै चैत धान उत्पादन हुने गरेको छ । यसअवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।” कार्यालयले चालु आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरेको थियो । विभिन्न १२ सहकारीमार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यो कार्यक्रमका लागि रु एक करोड चार लाख ९५ हजार खर्च भएको छ । यो कार्यक्रमबाट पाँच सय ३४ घरधुरी लाभान्वित भएका छन् । कार्यक्रममार्फत ५६ वटा मिनीटिलर खरिद, एकवटा रिपर हेड, पाँच केज हुइल, तीनवटा धान काट्ने मेसिन, १२ धान चुट्ने मेसिन, एक सय १८ स्प्रेयर, चार सय ४५ त्रिपाल, १८ डिजिटल तराजुलगायत सामग्री खरिद गरी वितरण गरिएको केन्द्रका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 23 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 24 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 25 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 13 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 27 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि