कञ्चनपुरमा विश्वमै दुर्लभ डङ्गर गिद्धका ११४ गुँड, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर । विश्वमै दुर्लभ अति संकटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।

निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण संघ (विसिएन) का चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ ।

‘विगतको तुलनामा गिद्धले बढी गुँड लगाएका छन्’ उनले भने, ‘वर्षौंदेखिको संरक्षणको कार्यको प्रभाव देखिन थालेको छ, निकै उत्साहित छौँ ।’ डङ्गर गिद्धसँगै अति सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धले पनि गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । निकुञ्जको भतपुरीफाँटामा दुई, हिरापुरफाँटामा एक गरी तीन वटा सानो खैरो गिद्धको गुँड फेला परेको चराविद् डगौराले जानकारी दिए ।

‘सर्भेका क्रममा कञ्चनपुरसँगै डडेल्धुरामा दुई, कैलालीको चरा तथा जैविक विविधता क्षेत्रमा १२ वटा डङ्गर गिद्धका गुँड फेला परेका छन्’ चराविद् डगौराले भने, ‘बैतडीको खोड्पेमा नौ वटा हिमाली गिद्धका गुँड फेला पारेका छौँ ।’

अति सङ्कटापन्न डङ्गर, सानो खैरो र सङ्कटापन्नको सूचीमा रहेको हिमाली गिद्धका गुँड रहेका क्षेत्रमा नियमित अनुगमनको कार्य भइरहेको छ । चराविद् डगौराका अनुसार डङ्गर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन् ।

नेपालमा नौ प्रजातिका गिद्धहरू पाइने गरेका छन् । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । डाइक्लोफेनेक औषधि पशु उपचारका लागि उत्पादन, बिक्री वितरणमा र प्रयोगमा पूर्ण प्रतिबन्ध, भेटेरिनरी अनुगमन, गिद्धलाई सेटेलाइट ट्रेकिङ गरी वातावरणमा छाड्ने कार्य, सुरक्षित आहार केन्द्र स्थापनासँगै बासस्थान सुधारमा ध्यान दिइँदा गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

समुदायस्तरमा आयोजना गरिँदै आएका सचेतनमूलक कार्यहरू पनि गिद्ध संरक्षणमा टेवा पुगेको उनी बताउछन्। समुदायसँगको सहकार्यमा अहिले गिद्ध संरक्षणका कार्यहरू अगाडि बढ्दै आएका छन् ।

सन् १९९० को दशकमा नाटकीय रूपमा ९९ प्रतिशतले गिद्ध घटेको पाइएको थियो भने नेपालमा सन् २००२ देखि २०१० सम्मको नेपाल पन्छी संरक्षण सङ्घले गरेको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको थियो ।

पछिल्लो अनुसन्धानहरूले किटोप्रोफेन, निमुसलाइड, फ्लुनिक्सिन, कारप्रोफेन, एसिक्लोफनेक आदि औषधिहरू गिद्धहरूका लागि विषाक्तता मानिएको छ । नेपालमा यस्ता औषधिहरूको प्रयोगमा प्रतिबन्ध अझै भइसकेको छैन । विषादीको गैरकानुनी तवरले मृत पशुहरुमा प्रयोग गर्ने, अव्यवस्थित विद्युतीय तारमा परी गिद्धको मृत्यु हुने, अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धहरुको उद्धार हुन नसक्दा गिद्धको मृत्यु हुने गरेको चराविद् डगौरा बताउछन् ।

बासस्थान विनाश, आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपायहरु गाड्ने चलनका कारण खानाको कमी तथा अभाव गिद्धविनाको अर्को कारणका रूपमा रहेको छ । ‘पछिल्ला वर्षहरूमा गिद्ध संरक्षणका लागि गरिएका प्रयासले सार्थकता पाएका छन्’, गिद्ध संरक्षणको क्षेत्रमा क्रियाशील सुवन चौधरी भन्छन्, “गिद्ध जोगाउने अभियानमा समुदायलाई जोड्दा बासस्थान सुधार भएको छ, त्यसको परिणामस्वरुप गिद्धको सङ्ख्या बढेको छ ।’

‘गिद्ध मांसाहारी चरा भए पनि आफैँले सिकार गर्दैन, मरेका जनावरको सिनो खाएर वातावरणलाई सन्तुलित बनाउनमा अहम् योगदान पुर्‍याउँछ’ चौधरी भन्छन्, ‘त्यसैले यसलाई प्रकृतिको कुचिकार पनि भनिन्छ ।’ सिनोका कारण वातावरण दुर्गन्धित हुँदा फैलिने हैजा, टाइफाइड, आउ, पखालालगायत रोगहरू गिद्धले सिनो खाँदा न्यूनीकरण हुँदै आएको उनको बुझाइ रहेको छ ।

धार्मिक मान्यताअनुसार हिन्दू धर्मावलम्बीहरूले गिद्धलाई शनिदेवको वाहनका रूपमा लिने गरेका छन् । धार्मिक महत्त्वको गिद्धलाई जोगाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको चौधरीको भनाइ छ । नेपाल सरकारले सन् २०२३ देखि २०२७ सम्मको गिद्ध संरक्षणका लागि पञ्चवर्षीय योजना बनाई लागू गरेको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 34 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन