
दीपेन्द्र प्रजापति/कालो झोला ।
काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ ।
सम्मेलनका आयोजक सार्क पत्रकार मञ्च (SJF) र नेवार पत्रकारहरूको लागि राष्ट्रिय मञ्च (NFNJ) का नेताहरू सम्मिलित एक प्रतिनिधिमण्डलले काठमाडौं स्थित बंगलादेश दूतावासमा राजदूतलाई शिष्टाचार भेटघाटको क्रममा घोषणापत्रको प्रतिलिपि हस्तान्तरण गरेको हो ।
SJF का अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमान, NFNJ का अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ, SJF बंगलादेशका नेता रफिकुल इस्लाम आजाद र NFNJ का नेता प्रजित शाक्य प्रतिनिधिमण्डलमा थिए ।
घोषणापत्रमा भाषिक विविधता, सीमापार मिडिया सहयोग र दक्षिण एसियाली क्षेत्रमा मातृभाषामा काम गर्ने पत्रकारहरूको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रमुख संकल्प र प्रतिबद्धताहरूलाई हाइलाइट गरिएको थियो ।
मातृभाषा पत्रकारिताको १ सय १ वर्षको अवसरमा जुन १३ र १४ मा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क देशका ५० भन्दा बढी पत्रकारहरु सहित १ सय भन्दा बढी पत्रकारहरुले भाग लिएका थिए ।