पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

गलेश्वर (म्याग्दी) । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

“गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्”, विकले भने, “आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।”

प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर रु २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्ष खेती राम्रो भएकाले पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरेका छन् ।

स्थानीय सरकारले परम्परागत बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि विकजस्तै यहाँका किसान पनि कोदोखेतीतर्फ आकर्षित भएका हुन् । मालिका गाउँपालिकाले स्थानीय हावापानी र माटो सुहाउँदो अन्न तथा नगदेबालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय सरकारको यस्तो नीतिले किसानमा आशा जागृत भएको मालिका गाउँपालिका–२ की टीकाकुमारी पुनले बताए ।

यस वर्ष पश्चिम म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानका अधिकांश बारीमा कोदो लगाइएको छ । मालिका गाउँपालिका–६ का किसानले यस वर्ष साढे दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उनका अनुसार गत वर्ष दुई सय मुरी कोदो उत्पादन भएको थियो ।

पौष्टिक तत्त्वले भरिपूर्ण कोदो बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि उपयुक्त खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर परम्परागत बालीको संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देवीस्थानका किसान टेकबहादुर सिउथानीले बताए ।

देवीस्थानमा मात्र पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा व्यावसायिक कोदोखेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने वार्षिक लाखौँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए ।

“गाउँमा १० वर्ष अघिदेखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यत्ति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रूपमा प्रयोग गर्छौँ”, विकले बताए ।

ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् । एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले बनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो रु” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै छ ।

जनशक्ति अभाव तथा धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदोखेती गर्न छाडेको किसानहरूले बताएका छन् । गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने गरेका बेनीका होटल सञ्चालक विमला बरुवालले बताए । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टेमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

खाद्यान्नका रूपमा कोदोको प्रयोग स्वस्थकर हुने मानिन्छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले बिरामीका लागि पनि कोदा उपयुक्त हुने चिकित्सकहरू बताउँछन् । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्त्व पाइन्छ ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन कोदोलाई उपयुक्त हुने उनले बताए । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय सरकारले परम्परागत प्रजातिको बालीमा न्यूनतम समर्थन मूल्य तोक्दै अनुदानको व्यवस्था गरेका छन् । मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाले कोदो, धान, फापर र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकेका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 94 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 90 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 104 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 92 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-