मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुई वटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

‘लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो’, उनले भने, ‘उपचार केन्द्र प्रभावकारी बनेका छन् ।’

मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताए । रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो ।

सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए । उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ ।

बिहान ६:०० देखि दिउँसो ३:०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८–७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०–८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।

चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।

‘कम उचाइ भएको ठाउँबाट उच्च उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्छ’, उनले भने, ‘स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय हो ।’ लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ । लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन्छ ।

मुक्तिनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री दर्शन र पूजाआजाका लागि आउने पुजारी कृष्णप्रसाद सुवेदीले बताए। अनुकूल मौसम, सडक यातायातको सहजता, होटल तथा लजको सुविधा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत स्वदेश तथा विदेशका उच्च पदका व्यक्तित्वको भ्रमण आदिका कारण मुक्तिनाथमा तीर्थालुको आगमन बढेको छ ।

आव २०८०–८१ मा सडकमार्ग भएर चार लाख २७ हजार जना पर्यटक भित्रिएको मुस्ताङमा केही दिनअघि सकिएको सोह्रश्राद्धको समयमा २० हजार जना आएका जिल्ला प्रहरी कार्यालयको अभिलेख छ । मुस्ताङ भित्रने अधिकांश पाहुनाको गन्तव्य मुक्तिनाथ मन्दिर हो । सोह्रश्राद्धमा कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास छ ।

मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’)का रूपमा लिने प्रचलन छ । मुक्तिनाथ परिसरको एक सय आठ धाराको पानी मिसिने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्त्व छ । हिन्दू धर्मावलम्बीले शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा पुज्ने गर्छन् ।

मुक्तिनाथमा तीर्थालु र पर्यटकको आगमन वृद्धिसँगै निजी क्षेत्रबाट सुविधा विस्तारका साथै सरकारी तवरबाट पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।

मन्दिर परिसरमा ढलान गरेर भक्तजन चिप्लिएर लड्ने समस्या हटाइएको छ । हेलोजिन लाइट जडान गरेर रातमा उज्यालो बनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले फोहर व्यवस्थापन गर्ने घर बनाएको छ । पुरातत्व विभागले मन्दिर परिसरको भूमिगत पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने संरचना बनाएको छ ।

धर्मगुरु त्रिदण्डी श्रीमन्नारायण रामानुज जीयरले मुक्तिनाथ मन्दिर परिसरमा विष्णु भगवान्को स्तम्भ बनाएका छन् । पर्यटन विभागमार्फत निर्माणाधीन रानीपौवा–मुक्तिनाथ मन्दिर जोड्ने पदमार्गले भने वर्षौँसम्म पनि पूर्णता पाउन सकेको छैन ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 43 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 42 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 62 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 74 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 111 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-