काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको हनुमान नगरमा भएको छ, जहाँ १४७.४ मिलिमिटर पानी परेको छ ।

त्यसैगरी महाशाखाले सुदूरपश्चिम, लुम्बिनी, बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा भएको देखाएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ भने लुम्बिनी र कोशी प्रदेशका केही जिल्लामा पनि उल्लेखनीय वर्षा भएको छ । देशका अन्य धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ ।
हाल मधेश प्रदेश बाहेक देशका अन्य सबै प्रदेशका विभिन्न जिल्लामा वर्षा जारी रहेको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा निरन्तर पानी परिरहेको छ भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
निरन्तरको वर्षासँगै नदी, खोला तथा खोल्सामा पानीको सतह बढ्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा तराईका होचा भूभागमा डुबान हुन सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
यस्तै, वर्षाका कारण राजमार्ग तथा ग्रामीण सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, नदी तथा खोलामा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र पूर्वसतर्कता पालना गर्न अनुरोध गरिएको छ ।







