काठमाडौँ । आफूहरू प्रहरी भएको भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र बैंकका चेक लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असार ९ गते साँझ करिब ७ बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानको डेरामा घटना भएको थियो ।
सोही क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौँ आएका थिए । त्यही बेला ५-६ जनाको समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै धम्की र त्रास देखाएर धनबहादुरलाई नियन्त्रणमा लिएको, हतकडी लगाएको र उनीसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी गर्ने क्रममा प्रहरीले असार १४ गते काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई वनस्थली बस्ने ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन् । उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट एक हजार दरका नेपाली नोट दुई लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।








