दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०२ असार । ईलाका प्रहरी कार्यालय, पोखरीया तथा वडा प्रहरी कार्यालय, श्रीपुर को संयुक्त प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज दिउँसो करिब ०३:०० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित ड्राईपोर्ट परवानीपुर सडक खण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा र पिकअप सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
मंगलबार त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले पथलैया बाट बीरगञ्ज तर्फ आउँदै गरेको बा. १९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकी कानूनी रीतपुर्वक खानतलासी गर्दा उक्त गाडीको पछाडीको डब्बामा त्रिपालले छोपी प्लाष्टिकले बेरिएको ८ पोकामा करिब १ सय ०९ क जी. लागु औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरीएको छ ।
बरामद गरीएको गाँजा सहित सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ०२ बस्ने अंदाजी बर्ष ३० को सुभाष थामी ( चालक ) तथा सोही ठाउँ बस्ने अंदाजी बर्ष २८ को छत्र बहादुर थामी समेतलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।







